ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै ठिंन्केपुका बालबालिका

रामेछाप । ठुलो पहिरोको माथि माथि हेर्दै हेर्दै डराई डराई पहिरो पार गर्छिन् रिया सुनुवार । विद्यालयमा पढ्न आउँदा र फर्किदा पहिरोबाट ढुङ्गा खस्छकी भन्ने डर छ रियालाई । ज्यान जोखिममा पारेर भएपनि शिक्षा लिन विद्यालय पुग्छिन् रिया । रिया ठिंन्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।
पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयमा पढ्न आउने बालबालिकालाई ठुलो असर परेको छ । रिया सँगै खिनमाया, आईश्वरी, अर्निता जस्ता धेरै बालबालिकाहरू जोखिम पार गरेर पढ्न जान बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन रिया, खिनमाया, आईश्वरी, अर्निता जस्ता धेरै बालबालिकाहरूले संघर्ष गर्नु परेको छ ।
यो व्यथा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –७ भुजीको हो । पहिरोकै कारण ठिंन्केपु आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थी समेत कम भई सकेको विद्यालयका प्रधानाध्यापक राजन सुवेदी बताउँछन् । सुवेदी भन्छन् – ’यो पहिरो जानु अघि ३ सय ५० भन्दा बढी विद्यार्थी थिए । अहिले घटेर ७५ जना भएको छ । अचेल त विद्यार्थीहरू डराइडराई विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेननी भनेर खुसी हुन्छन् साना नानीबाबुहरू । वर्षाको बेलामा त ल्याउने पु¥याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नपर्छ । ठुलै झरिपरे विद्यार्थी आउने कुनै चान्स नै हुँदैन ।’
ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन् । मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै ?– सुवेदी खुईया गर्दै दुखेसो पोख्छन्। उनी थप्छन् – यो त दोस्रो घ्याप्चे भन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर बनाएको छ दैनिकी ।
सानो पानी परेपनि पहिरो खस्ने ठिंन्केपु आधारभूत विद्यालयका विव्यस अध्यक्ष बालकुमार सुनुवार बताउँछन् । उनी भन्छन् –पानी पर्योकी पहिरो झरिहाल्छ । पहिरो कतिबेला आएर के गर्ने हो पत्तो नै हुँदैन । अर्कोबाटो भएर घुमेर आऊ नानीबाबु भन्न पनि कतै छैन बाटो । कुन जन्मको पाप खेपिरहेका छौँ हामीले र हाम्रा लालावालाले खै ?
भुजीको पहिरो रोकिने भन्दापनि जोखिम बढाउँदै गइरहेको छ । २०७२ सालको भूकम्प गए देखि सुरु भएको उक्त पहिरो त्यस वर्षको बर्षादको समय देखि बढ्दै गएको स्थानीय भिम बहादुर नेवार बताउँछन् । नेवार भन्छन् – “निरन्तर पहिरो झर्ने भएका कारण जोखिम बढ्दै गएको छ । विद्यालय जाने आउने बालबालिकाहरूलाई निक्कै समस्या हुने गरेको छ । जोखिमका कारण वर्षादको समयमा विद्यालयका बालबालिकाहरूलाई वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ ।
पहिरोका कारण भुजीको ठिन्केपु पिपलडाँडा, सारीटोल,कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब ८० घर परिवार विस्थापित भई सकेका छन् । पिपलडाँडाँबाट विस्थापित भई वडा अध्यक्ष रुद्र मणि नेवार सहित दलित र नेवारी समुदायका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँ सराई गरिसकेका छन् । भूगर्वबिद्धहरु लाई यस सम्बन्धी गहिरिएर अध्ययन गराइ समस्याको समाधान गर्नुपर्छ अन्यथा यसले अझ ठुलो जोखिम निम्त्याउने सम्भावना छ – उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले भने।
सरकारले यस ठाउको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । तर पनि उक्त कार्यक्रम प्रभावकारी ढंगबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिंकेपु, पिपलडाडा, फास्तु बाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकार मार्फत मुहान खोला मा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकार बाट रु १० लाखको योजना परेको भएपनि त्यसले मात्र पर्याप्त छैन । उक्त पहिरोको जोखिमका कारण बर्षादको समयमा भुजी स्थित पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरूको सङ्ख्या र वडा कार्यालयमा आउने सेवाग्राहीहरूको सङ्ख्या पनि घटेको छ – स्थानीय दशराम सुनुवारले भने ।
पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर ठुलो मान्छेलाई समेत समस्या परेको दशराम सुनुवार भन्छन् । उनका अनुसार पहिरोको ओल्लोपाटोका नागरिकलाई किनमेलको लागि समेत समस्या भएको छ । दैनीक उपभोग्य सामान खरिदकालागी पहिरो कटेर जानुपर्ने बाध्यता छ । झरिपर्नु अगाडी धेरै सामान खरिद गरेर घरमा राख्नुपर्छ । नत्र झरिपरुन्जेल केही पाँईदैन ।
पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । उनी भन्छन् – हामीले अहिलेलाई त्यहीँ बाटो त खोलेका छौँ, तर त्यहाँबाट आवतजावत गर्न समस्या छ, जोखिम छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ हामी । त्यसको लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गई सकेको छ । यो प्रक्रियागत काम भएकोले अब छिट्टै पुल बनाउने काम सुरु हुन्छ । पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन् ।