साहित्य र समाजसेवाका साधक जगदीश

जगदीश घिमिरेको जन्म बि.सं २००२ चैत्र २८ गते (सन् १९४६ अप्रिल १० तारिख) मा मन्थलीमा भएको हो । उहाँको विद्यालय अघिको बाल्यावस्था मन्थलीमा बित्यो । त्यसपछिको शिक्षा दीक्षा बाबा इन्द्रप्रसाद घिमिरेको जागिरे जीवनसँगै नेपालको विभिन्न स्थानमा भयो । उहाँको उमेर ५ वर्ष पुरा हुँदा बि.सं २००८ सालमा पिताजी जलेश्वर अपिल अदालतको न्यायाधीश बनाइनु भयो । डोकोमा बोकिएर जलेश्वर लगिनु भयो । उहाँको बाबाको ८ बर्षे जागिरे जीवनकालमा जलेश्वर लगायत सल्यान र नेपालगन्जमा विद्यालय शिक्षाहरू सम्पन्न भए । बाबाको जागिरे जीवनको समाप्तिपछि एस्.एल्.सी काठमाण्डौको पद्मोदय हाईस्कुलबाट सम्पन्न भयो ।
एघार वर्षको उमेरमा बनारस छुट्टीमा जाँदा उहाँले गुलरियामा नेपाली काँग्रेसका नेता सुरेशराज शर्मालाई भेट्नु भयो । त्यसबखत नेपाली काँग्रेसको सिद्धान्तको जानकारी हासिल गनुभो र सयौँ साथी तथा दाजुहरूलाई काँग्रेसको सदस्य बनाउनु भयो । सूर्यविक्रम ज्ञवालीलाई पहिलो पटक उहाँले बनारसमा भेट्नु भयो ।
२०१७ साल माघमा एसएलसी दिए पछि फागुनमा मन्थली आउनका लागि सपरिवार जनकपुर तर्फ आउनु भयो । यो झन्डै ८ बर्सपछिको मन्थलीको पुनरागमन थियो । त्यसबखतको अनुभवको बारेमा उहाँले लेख्नु भएको छ, “प्रवासमा हुँदा सुनेको चर्चाले मन्थलीबारे जिज्ञासा बढाएको थियो। फर्केर मन्थली पुगेपछि म एकाएक रमाएँ । मन्थली पुगेको केही दिनमा नै मलाई अनुभव भयो, मेरा जरा मन्थलीको आफ्नो माटो पाएर हलहली बढ्न लागेका छन् । किन त्यस्तो लाग्यो भन्न सक्तिन ।”यसै गरी मन्थली बारे पटनामा पढ्न बस्दा लेख्नु भएको कथा पटना ७३ मा सुन्दर वर्णन पाइन्छ । जुन बर्दी कथासङ्ग्रहमा संग्रहीत छ ।
बि.सं २०१८ साल वैशाखमा एस्.एल.सिको परिणाम निस्केपछि उहाँ अमृत साइन्स कलेजमा आईएस्सी पढ्न थाल्नु भयो तर दोस्रो र तेस्रो वर्ष फाइनल परीक्षा दिनभएन । उहाँ लेख्नुहुन्छ, “म बिग्रे, मेरो नियमित पढाई भत्कियो । म भत्किएँ । नभत्किएको भए म लेखक हुने थिइन ।” उहाँ पुन जनकपुर फर्कनु भयो । उहाँ लेख्नु हुन्छ, “जनकपुर बास अनेकौँ सम्पर्क, संयोग, वियोग,स्वीकार, अस्वीकार, र पीडाजनित आत्मचिन्तनको सघन दुख सुखात्मक सन्धि संक्रमणकाल थियो । ती सबै मिलेर मलाई अनेकौँ तीव्रतम अनुभूति दिए, जसले मेरो प्रारम्भिक साहित्यिक र राजनीतिक चेतनाको र जीवनोद्देश्य र स्ववास्तविकताको समेत जग हाले ।”
त्यहाँ उहाँको मनुव्राजकीसँग सङ्गत भयो । त्यहाँ साम्यवादी छापामार युद्धको सैद्धान्तिक र व्यवहारिक प्रयोगको बारेमा उनीसँग धेरै बिचार आदान प्रदान र योजना बने । त्यस बेला दरभंगा गएर पुष्पलाल र तुलसीलाललाई पनि भेट्नु भयो तर कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएन । कम्युनिस्ट समाज नामक समाजको स्थापना गरेर रामेछाप र सिन्धुली जिल्ला कब्जा गर्ने रणनीति बनेर केही बन्दुकको जोहो गरेतापनि एक रात भिमान बासको घटना र बिचार विमर्शमा नै पुन साम्यवादी सिद्धान्तमा मोह भङ्ग भयो । यसका बारेमा उहाँ लेख्नु हुन्छ, ..आआफ्ना हत्केलामा लिएका ज्यान साथीको हत्केलामा सुम्पेर क्रान्तिमा होमिएका थियौँ । तर हामी झोलाको वजन बाँडेर बोक्न तयार थिएनौँ । त्यो थियो बोली र व्यवहारको फरक । मानव मनको सबभन्दा ठुलो समस्या के हो भनेर सोध्नेलाई म निसंकोच भन्छु, बोली र व्यवहारमा फरक । पशुजगतमा त्यस्तो हुँदैन । त्यस मानेमा मान्छेभन्दा पशु श्रेष्ठ छन् ।”
त्यहाँ उहाँको मनुव्राजकीसँग सङ्गत भयो । त्यहाँ साम्यवादी छापामार युद्धको सैद्धान्तिक र व्यवहारिक प्रयोगको बारेमा उनीसँग धेरै बिचार आदान प्रदान र योजना बने । त्यस बेला दरभंगा गएर पुष्पलाल र तुलसीलाललाई पनि भेट्नु भयो तर कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएन ।
त्यसपछि उहाँले साहित्यको बाटो रोज्नु भो । बि.सं २०२६ सालमा साविती र २०२४ सालमा लिलाम लेख्नु भो । उहाँको त्यसबखत पण्डित साम्वभक्त सुवेदीसँग भेट भयो र साहित्य साधनाका बारेमा छलफलहरू भए । जनकपुरमा रहँदा डा. धिरेश्वर झा, मनु व्राजकी , लीलासिंह कर्मा, दिनेश गिरी, राप्रउ पोख्रेल, लेखनाथ शर्मा, भक्तबहादुर देवान, कमल गजमेर, अमेरिकी सोधकर्ता रिचर्ड बर्गहार्ट, रोचक घिमिरे, तथा दाजु नगेन्द्रराज शर्मा साहित्यिक मित्रहरू थिए । पहिलो पटक बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र कमलमणि दीक्षितलाई जनकपुरमा देवकोटा जयन्ती सन्दर्भमा भेट्नु भएको थियो । त्यस बखत उहाँहरूकै संलग्नतामा जनकपुरको भानु चौक नामकरण गरी भानुभक्तको सालिक निर्माण गरियो । उहाँले जनकपुरमा हिमालको छाँया र पर्वत नामक साहित्यिक पत्रिकाको सम्पादन गर्नुभयो । २३ बर्षका उमेरमा उहाँ काठमाडौँ आउनु भयो । उहाँलाई लेखक भएर बाँच्ने र आफ्नो खुट्टामा उभिने इच्छा जाग्यो । त्यो २०२६ सालतिरको कुरा थियो ।
काठमाण्डौको पहिलो गुजारा लिलाम र जगदीशका कथाहरू बेचेर चल्यो, त्यो उहाँले २५० रुपैयाँका दरले २०२७ सालमा बिक्री गर्नु भएको थियो । काठमाण्डौमा उहाँको साहित्यिक सङ्गत मोहन कोइराला, ईश्वर वल्लभ, अम्बर गुरुङ, भूपी शेरचन, हरिभक्त कटुवाल, इन्द्र ब. राई, अगम सिंह गिरी, सुवास घिसिङ, देवकुमारी थापा, लक्खीदेवी सुन्दास, सँग भयो । उहाँलाई लेखक बन्ने प्रेरणा दिने रोचक घिमिरे, रचना, भवानी घिमिरे, भानु, नारायण ब सिंह र भैरव अर्याल गोरखापत्र र मधुपर्क, बालमुकुन्ददेव पाण्डे र उत्तम कुवर रूपरेखा, मदनमणि दीक्षित समीक्षा, नगेन्द्रराज शर्मा अभिव्यक्ति, बासु शशि, सञ्जय डाईजेष्ट, हरिभक्त कटुवाल बान्कीका सम्पादकहरू हुन् । त्यसबखत पारिश्रमिक पाउन ज्यादै गाह्रो थियो तर उहाँको कथाहरू मन पराईने भएकाले केही पारिश्रमिक दिन्थे । उहाँले समीक्षा पत्रिकामा काम गर्नुभयो । त्यसबखत उहाँले नेपालका विभिन्न सहरहरू र दार्जिलिङमा भएका साहित्यिक सम्मेलनहरूमा भाग लिनु भो ।
२०२८ सालमा कालम्वो योजनाको छात्रवृत्तिमा समाजशास्त्र पढ्न उहाँ पटना जानु भयो । त्यहाँ उहाँका रचनाहरू पढेर वी.पी कोईरालले उहाँलाई भेट्न बोलाउनु भयो । वी.पी सँग उहाँको धेरै साहित्यिक कुराहरू भए तर तत्कालीन अवस्थामा नेपाली काँग्रेसले गर्न लागेको सशस्त्र विद्रोह प्रति उहाँले सफल हुनेमा शङ्का व्यक्त गर्नुभयो । त्यहाँ उहाँको परिचय भारतका प्रसिद्ध साहित्यकारहरू फणिश्वर रेणु, देवेन्द्र सिंह, पत्रकार जितेन्द्र सिंह आदिसँग भयो । त्यहाँ किशोर नेपाल र उहाँ मिलेर प्रतिनिधि नेपाली कविताहरू छानेर जगदीश सिन्हा र उहाँ मिलेर हिन्दीमा अनुवाद गरी नेपाली कविताए नामक पुस्तक छापियो ।
२०३२ सालमा उच्च शिक्षा अध्ययनका लागि बेलायत तर्फ जानु भयो । उहाँ पढाईबाट फर्किए पछि नेपाल परिवार नियोजन संघ, जाँचबुझ केन्द्र र सिआरएस् प्रोजेक्टमा जागिर खानु भो । चौथो जागिर २०३९ सालमा लन्डनस्थित इन्टरनेसनल प्लान्ड प्यारेन्टहूड फेडेरेशनको काठमाण्डौको खोलिने अफिसमा भयो ।
उहाँको जागिर छोड्नु भएको प्रेरणा रोचक छ, उहाँ लेख्नुहुन्छ, “मैले जागिर छोड्ने निर्णायक प्रेरणा रछयान खोतलेर जीविका गर्ने वालवालाबाट पाएँ । बत्तिस पुतलीमा बस्थ्यौँ, बिहान सधैँ दुर्गा र म पशुपति गुह्येश्वरी, वनकाली डुल्न जान्थ्यौँ । एकदिन गुहेश्वरीवाट फर्कँदा गौरीघाटनिरको उकालोमा तीनचार जना बालवाला भेटिए ।
२०४१ सालमा दक्षिण एसियाको सहायक क्षेत्रीय निर्देशक पदमा बढुवा भएर लन्डन सरुवा हुनु भयो र सपरिवार लन्डन जानु भो । दुर्गा घिमिरे अंशसमय बी.बि.सी नेपाली सेवामा काम गर्नु हुन्थ्यो । आम्दानी राम्रो भएकोले केही सापटी लिएर विम्बल्डन लन्डनमा घर किनेर बस्न लाग्नुभयो । त्यहाँ धेरै सुखको जीवन थियो तर त्यहाँको जीवनले उहाँलाई असन्तोष तुल्यायो । उहाँ लेख्नुहुन्छ, “जीवन असन्तोष हो । जससँग जे हुन्छ, त्यसले हुँदैन, पुग्दैन । जे हुँदैन, त्यो चाहिन्छ, नभै हुँदैन । जे छ र जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो। सन्तोष हो । जे छैन त्यसमा रमाउन खोज्नु दुख हो ।” उहाँको हाइहाइ बेलायत नाटक यसै विषयमा छ र त्यो वि.वि.सी नेपाली सेवामा प्रसारित भएको थियो । उहाँले बेलायतको जीवन निराश लाग्न लाग्यो । उहाँले नेपालमा दक्षिण एसियाको अफिस राखेमा खर्च घट्छ भन्ने तर्क राखेपछि हाकिमहरूले माने र काठमाण्डौमा जागिर सारियो । बेलायतको बसाईसराई को कागजलाई लत्याइ दिनु भो र २०४३ सालमा काठमाडौँ फिर्ता हुनुभयो ।
यसबिच लन्डनमै रहँदा बिदामा मन्थली आउँदा बि.सं २०३९ सालमा मन्थलीका स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको सहायताले तामाकोसी सेवा समितिको स्थापनामा लागिपर्नुभयो । २०४० साल पुसमा संस्था दर्ता भयो । जो रामेछाप जिल्लामा पहिलो र समाज कल्याण परिषदमा ६८ औँ संस्था थियो ।
२०४३ को काठमाण्डौको फिर्ती पछि उहाँले तामाकोसी सेवा समितिमा आफ्नो सक्रियता बढाउनु भयो । उहाँको जागिर छोड्नु भएको प्रेरणा रोचक छ, उहाँ लेख्नुहुन्छ, “मैले जागिर छोड्ने निर्णायक प्रेरणा रछयान खोतलेर जीविका गर्ने वालवालाबाट पाएँ । बत्तिस पुतलीमा बस्थ्यौँ, बिहान सधैँ दुर्गा र म पशुपति गुह्येश्वरी, वनकाली डुल्न जान्थ्यौँ । एकदिन गुहेश्वरीवाट फर्कँदा गौरीघाटनिरको उकालोमा तीनचार जना बालवाला भेटिए । ती गौशालाको खाली चौरको पालमा बसेका जाँतो, सिलौटा कुदेर बेच्ने बन्जारा परिवारका थिए । सबैका हातमा बोरा फmलामे अंकुसे थिए, जसले भन्थ्यो, उनीहरू रछयान खोतलेर र प्लास्टिक बटुलेर जीविका गर्छन् । तर उनीहरू हाँस्दै खेल्दै उफ्रँदै अत्यन्त प्रसन्नतापूर्वक रछयान खोतल्न जाँदै थिए । सबैको ओठमा हाँसो र अनुहारमा दिव्य हँसिलोपन थियो । हाँसो जगतको एक मात्र मातृभाषा हो, जुन सबैले बुझ्छन् । उनीहरूको हाँसोले दिएको दिव्य सन्देश मैले बुझे । मैले आफ्नो र उनीहरूको खुसी दाँजे । म नेपाल भित्र विदेशी जागिरमा रहेका सबभन्दा बढी तलब खाने थोरै नेपाली मध्येको थिए । कहाँ म सुबिधासम्पन्न अन्तर्राष्ट्रिय सेवाको उच्च अधिकृत कहाँ ती घरबारविहीन रछयान खोतलेर जीविका गर्नेहरू । तर उनीहरूको खुसीको स्तर मेरो भन्दा बढ्ता पाएँ । मलाई असह्य भयो । उनीहरूको अनुहारमा चम्केको प्रसन्नताले मलाई तिखो सियोले जस्तै रोप्यो । गम्न बाध्य गरायो । मेरो अनुहारमा हाँसो र प्रसन्नता नआएको बर्सौँ भएको थियो । मैले त्यै क्षणमा लन्डन फिर्ता नजाने र जागिर छोड्ने अन्तिम निर्णय गरे ।”
उहाँले बढुवा हुन लागेको लन्डनको जागिर छोड्नु भो । अभावै अभाव भएको रामेछाप जिल्लामा स्वनिर्भर र दिगो सामुदायिक विकासको उद्देश्यले खोलिएको तामाकोसी सेवा समितिलाई आफ्नो सम्पूर्ण समय दिनुभयो । २०४६ साल देखि २०५७ सालसम्म अवैतनिक अध्यक्षको रूपमा रहनु भयो । यस संस्थाको मिसन हो, अशक्तलाई सशक्त बन्न टेवा दिने । उहाँ लेख्नु हुन्छ, “रामेछापमा थालेको मेरो गैर सरकारी संस्थाको अभियानले मलाई काठमाण्डौमा कृषिबन प्रतिष्ठान र एन जीओ फेडरेशनको पनि संस्थापक र अध्यक्ष बनायो । यी दुवै संस्थाको जग हाल्नमा मेरो प्रमुख भूमिका रह्यो । तिलगंगा आँखा केन्द्र बेग्लै सपना थियो, जुन डा. सान्द्रुक रुइत र साथीहरू देखिरहेका थिए । उनीहरूले मलाई त्यसमा पनि सामेल गराए । कुनैबेला म यी चारवटा संस्थाहरूमा एउटै संस्थापक र अध्यक्ष थिएँ । सक्रिय नेतृत्व दिएँ । मेरा यी सबै पगरी स्वयंसेवीको रूपमा थिए ।
अहिले तामाकोसी सहकारी अस्पताल २०४० सालमा उहाँकै घरछेडीमा यौटा दराजमा ६,००० को औषधीबाट प्रारम्भ भएको हो । २०४५ सालको अधिग्रहणपछि नगर विकासले प्रदान गरेको अहिले अस्पताल भएको खाँदवारिमा सानो टहरो निर्माण भएपछि स्वास्थ्य चौकी यहाँ सारियो । यस समय भित्र उहाँले रामेछाप जिल्लाका हरेक गाउँ बस्ती महिनौँ सम्म विभिन्न बाटो भएर अवलोकन गर्नुभयो, वस्तुस्थिति बुझ्नु भो र योजनाहरू कोर्नुभयो । बि.सं २०५२ सालमा उहाँकै अगुवाइमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो । सँगसँगै तामाकोसी सेवा समिति र मन्थली सहकारीको टेवा अस्पताल चल्न सुरु भयो । अहिले देखिएका सामुदायिक विकासका कामहरू जस्तै, सिचाई, खानेपानी, तरकारी खेती, साक्षरता, सहकारी विकास, जस्ता यावत कार्यहरू उहाँको कुशल नीति, निर्देशन, व्यवस्थापनका परिणाम स्वरूप भएका हुन् ।
देशमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि उहाँ नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुनुभयो । बि.सं २०५६ सालमा रामेछाप जिल्ला क्षेत्र नं २ बाट संसद् सदस्यका लागि अनुरोध आउँदा त्यसलाई अस्वीकार गर्नुभयो । यसबिचमा उहाँले नेपाल साप्ताहिक पत्रिकामा चेतना भया शीर्षकमा तिखो राजनीतिक र सामाजिक विश्लेषणहरू लेख्न प्रारम्भ गर्नुभयो र यो धेरै नै लोकप्रिय भयो ।
बि.सं २०५५ सालमा उहाँको जीवनको पाँचौँ जागिर वर्ल्ड नेवर्स अमेरिका, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दक्षिण एसियाको प्रतिनिधि भइदिन अनुरोध आयो । त्यो उहाँको इच्छा थिएन । तर पनि ग्रहण गर्नुभयो ।उहाँका कार्यकालमा सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा र बिहारमा पनि तासेस जस्तै संस्थाहरूले सामुदायिक विकासका कामहरू थालेर अहिले धेरै सेवाहरू प्रदान गरिरहेका छन् ।
उपचारको क्रममा थाइल्यान्डमा बस्दा उहाँको अत्यधिक मन पराइएको कृति अन्तर्मनको यात्रा लेखनको प्रारम्भ गर्नुभयो । यो २०६४ सालमा सर्वप्रथम प्रकाशित भयो । जसले मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त ग¥यो । यो कृति उहाँको अध्ययनशीलताबाट जन्मिएको धर्म, दर्शन, राजनीति, समाजशास्त्र, चिकित्सा, कृषि, पशु, ईन्जिनियरिंग विज्ञानहरू र उहाँको जीवनको कटु अनुभवहरूको नेपालको साहित्यको नौलो विधाको उत्कृष्ट नमुना हो ।
बि.सं २०६१ सालमा त्यो जागिर छोडेर साहित्य लेख्ने चाहना राख्नुभयो तर कार्यकारी प्रमुखले मानेनन् । बि.सं २०६३ साल वैशाखमा तामाकोसी सेवा समितिले ओक्लोहामा सिटी नेशनल मेमोरियल एण्ड म्युजियम, युएस,ए बाट प्राप्त २५,००० डलरको अन्तर्राष्ट्रिय पुरस्कार रिफ्लेक्शन अफ होप अवार्ड ग्रहण गर्न जाने क्रममा उहाँको रोग मल्टिपल मायोलोमा पत्ता लाग्यो । किमो उपचारहरू सुरु भए । यस धन राशिलाई अक्षय कोषका रूपमा राखेर गाउँका दुखी बिरामीहरूको उपचारमा केही सहायता गर्न जगदीश घिमिरे प्रतिष्ठानको स्थापना गरियो । यस संस्थाको कार्य निर्देशनमा साहित्यका लागि योगदान दिने पनि उल्लेख छ ।
उपचारको क्रममा थाइल्यान्डमा बस्दा उहाँको अत्यधिक मन पराइएको कृति अन्तर्मनको यात्रा लेखनको प्रारम्भ गर्नुभयो । यो २०६४ सालमा सर्वप्रथम प्रकाशित भयो । जसले मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त ग¥यो । यो कृति उहाँको अध्ययनशीलताबाट जन्मिएको धर्म, दर्शन, राजनीति, समाजशास्त्र, चिकित्सा, कृषि, पशु, ईन्जिनियरिंग विज्ञानहरू र उहाँको जीवनको कटु अनुभवहरूको नेपालको साहित्यको नौलो विधाको उत्कृष्ट नमुना हो ।
२०६४ साल पुसमा रामेछाप साहित्यिक महोत्सव मन्थलीमा आयोजना भयो । झन्डै २ दर्जन जति साहित्यकारहरू करिब एक हप्ता मन्थली र यस आसपासका बस्तीहरू घुम्दै साहित्य गाए, रचे, रसास्वादन गरे, नवोदीत रामेछापका साहित्यकारहरूले आफूलाई चिनाउने मौका पाए । त्यसपछि पुन एक वर्ष पछि बृहत् साहित्य महोत्सव सम्पन्न भयो । उहाँको अन्य प्रसिद्ध कृतिहरू अन्तर्मन्थन समीक्षा सङ्ग्रह २०६७ सालमा, बर्दी कथासङ्ग्रह दोस्रो संस्करण २०६७ सालमा, सकस आख्यान २०६९ साल भाद्रमा प्रकाशित भयो।
बि.सं २०६३ सालपछिको ७ वर्षको समयलाई सम्पूर्ण रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा लगाउनु भएका जगदीश घिमिरेको देहान्त २०७० साल कार्तिक १४ गते बिहान ५.५५ बजे काठमाण्डौको ओम अस्पतालमा हुन गयो । सोही दिन वैदिक विधिपूर्वक उहाँलाई आर्यघाटमा लगियो । नेपालका साहित्यकार, कलाकार, सर्वसाधारण, राजनीतिज्ञ लगायत उहाँका प्रिय पाठकहरूले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिए । सोही दिन दिनको १२ बजे आर्यघाटमा उहाँको दाहसंस्कार गरियो ।
नेपालका एक सच्चा सपुत, प्रसिद्ध साहित्यकार, टिप्पणी र स्तम्भकार तथा वरिष्ठ समाजसेवी जगदीश घिमिरे भौतिक देह सहित यस धरतीबाट बिदा हुनु भो । अव हामीसँग उहाँका कृति, देन र सामाजिक कामहरूको विरासत बाकी छ । तर उहाँ सधैँ यही मार्फत अमर रहनु हुनेछ । यदि उहाँको कल्पनाको समाज र साहित्यको निर्माणमा हामीले इमानदारिताका साथ अघि बढाउन सकेनौ भने सहीमा साँचो श्रद्धाञ्जली दिएको ठहर्ने छैन ।