प्रचारप्रसार र संरक्षण नभएको ‘थामी ला कोला’

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको अत्यन्तै लोकप्रिय स्थान खाँडादेवी मन्दिर भन्दा २ सय मिटर तल रहेको जङ्गलमा भएको एक गुफा थामीको घर भएको जनविश्वास रहिआएको छ । त्यहाँको तामाङ समुदायमा ‘थामी ला कोला’ नामले परिचित सो जङ्गलको अनकन्टारमा रहेको सो गुफा प्रचार प्रसार र संरक्षणको अभावमा गुमनाम बनेको छ । थामी भनेको एक जाति र तामाङ भाषामा ‘कोला’ भन्नाले बच्चा भनेर बुझिने भएकोले तामाङ समुदायले सो जङ्गलको नाम नै थामी ला कोला राखिदिएको खाँडादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।
हेर्दा भयङ्कर भिर देखिन्छ । गुफामा पुग्न निकै सकस हुन्छ । तर पनि घिस्रिँदै भएपनि सो ठाउँमा पुग्दा साँच्चै अचम्म लाग्छ । एकजना मात्रै मान्छे बस्न मिल्ने सो गुफामा पुराना विभिन्न किसिमका सामग्रीहरू रहेका छन् । आगो बाल्न प्रयोग भएको चम्का जस्ता देखिने केही ढुङ्गा, सिलौटो जस्तो देखिने एउटा समथल ढुङ्गा देख्दा लाग्छ, यो कहानी सत्य नै हो ।
घटना सत्य होस् या असत्य, जे भएपनि खाँडादेवी मन्दिरको काखैमा रहेको यस थामी ला कोला गुफाको संरक्षण गरिनु जरुरी छ । जिल्लाको पर्यटन प्रवर्धनका लागि खाँडादेवी मन्दिरको साथै यस गुफाले पनि थप योगदान अवश्य पु¥याउने छ ।
भौगोलिक विकटता तथा हाल अधिकांश तामाङ समुदायका नागरिकहरूमा नै यो गुफाको वास्तविकता र यो प्रतिको जन विश्वास लोप हुँदै गएको बेला यो गुफाको संरक्षण र संवर्धन गर्न सकियो भने रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकालाई पर्यटकमय क्षेत्र बनाउन सकिने कुरामा दुईमत छैन ।
जब उपत्यकाको विजय पछि सुसङ्गठित भएको नेपाल राज्य विस्तारको क्रममा अङ्ग्रेजहरूसँग युद्ध लड्नुपर्ने भयो, त्यो बेला पृथ्वीनारायण शाह अङ्ग्रेज युद्धको तयारी स्वरूप वर्तमान सिन्धुली जिल्लाको सिन्धुली गढी र रामेछापको खाँडादेवी मन्दिर रहेको स्थान (खाँडादेवी गढी) मा आइपुगेका थिए ।
हालको खाँडादेवी मन्दिर भएको स्थान घना जङ्गलको रूपमा थियो । स्थानीय राई समुदायहरूले आफ्ना गाई, भेडा लगायतका पशुहरूको चरनस्थलको रूपमा रहेको खाँडादेवी डाँडोमा शाह आइपुग्दा त्यहाँ शिलाको रूपमा रहेकी सुकामाया पहरी अर्थात् खड्गदेवी माता, अझ भन्दा खाँडादेवी बेवारिसे शिलाको रूपमा मात्र थिइन् ।
शिलाको रूपमा रहेकी सुकामाया पहरी अर्थात् खड्गदेवी माता, अझ भन्दा खाँडादेवी बेवारिसे शिलाको रूपमा तत्कालीन समयमा अधिक बाहुल्यता भएको राई समुदायले बिहान बेलुका नित्य पूजा गर्ने गरेको भएता पनि त्यो भन्दा बढी यहाँको महत्त्व त्यो बेलामा पनि थिएन । छिटफुट रूपमा आउने भक्तजनहरूसँग मागेर आफ्नो गुजारा गर्ने एकजना थामीसँग भेट भएपछि शाहले अघिल्लो दिन राती आफूले यो ठाउँमा खाँडादेवी भएको, खाँडादेवीले आफूलाई आफ्नो युद्ध अङ्ग्रेजहरूसँग भएरै छाड्ने तथा त्यसका लागि तिमीले हरेस खानु हुँदैन भन्ने सपनामा भनेको बारे शाहले विस्तारमा थामीलाई सुनाए ।
त्यो सुनेपछि थामीले शाहलाई भने, ‘महाराज, यहाँले सपनामा देख्नुभएको कुरा सत्य हो । खाँडादेवीले यहाँलाई सपनामा भनेको जस्तै सिन्धुली गढीमा गएर अङ्ग्रेजसँग युद्ध लड्नुहोस्, जीत यहाँकै हुनेछ ।’ थामीले भनेको हुबहु मान्दै शाहले आफ्नो युद्धलाई सिन्धुली गढीबाट जारी राखे । फलस्वरुप, सो युद्धमा शाहको जीत भयो, अङ्ग्रेजहरूले भागेर आफ्नो ज्यान जोगाए ।
यस्तो महान् सन्देश दिने थामी अर्थात् खाँडादेवी माताको बफादार सेवकको त्यो समयको बसाइँको बारे धेरैलाई जानकारी नहुन सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button