खाँडीबाट फर्केर खेती किसानी

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।
पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम बेच्न गएका थिए उनी । आफ्नो पुर्खौली कृषि पेसाले गाँस, बास र कपासको जोहो गर्न नसकेपछि अरू युवा जस्तै कुलबहादुर पनि खाँडी छिरे । पहाडको चिसो मौसममा आफ्नै तरिकाले काम गर्दै बाँचेका कुलबहादुर विदेशी भूमिमा पुगेर अरूको इशारामा समय कटाउन बाध्य बने । विवाह गरे पछि पनि विदेश गएका उनी त्यो पललाई अब सम्झनै चाँहदैनन । काखको आफ्ना सन्तान खेलाउन छाडेर समेत कुलबहादुर पैसा कमाउन विदेश गए । बुढी आमाको र साना लालावालाको जिम्मेवारी श्रीमतीलाई छाडेर ।
खाँडीको बसाइँले धेरथोर पैसा पनि दियो । तर त्यो पैसाले कुलबहादुरसँग परिवारको माया र गाउँको सम्झना किन्न सकेन । विदेशमा जति सुकै कमाए पनि आफ्नो जवानी सबै अरूकै नोकर बनेर बिताउन मन लागेन उनलाई । २०७२ सालको महाभूकम्पले देशको मुहार तहसनहस बनाए पछि आफ्नै गाउँ फर्किए कुलबहादुर । गाउँ फर्केका कुलबहादुरले फर्के लगत्तै आलु र किवी खेती सुरु गरे । आलु खेती उनको पुर्खौली पेशा भए पनि किवी खेती उनको लागि नयाँ थियो र उतिकै चुनौती पनि थियो । विदेशमा हुँदा मेन्टिनेन्सको काम गरेका उनको रगतमै कृषि थियो ।
अरबको तातोमा १४ वर्ष बिताएर आफ्नै गाउँ फर्किएका कुलबहादुर अचेल खेतीपातीमै व्यस्त भेटिन्छन् । दुई छोरा एक छोरी, श्रीमती र आमाको साथमा अहिले उनी खुसी छन् । विदेश जानु अगाडि हौसला दिने कोही नभएकोले आफ्नो १४ वर्ष अर्काको माटोमा बितेकोमा चिन्तित बने उनी । सानैदेखि बोटबिरुवासँग प्रेम बसेको कुलबहादुरका बाबु बागवानी फार्मका जागिरे थिए । कटुस, आलुचा, आरुका फलफूलहरूसँगै बालापन बिताएका उनी अहिले किवी फलाएर व्यावसायिक कृषिमा जमेका छन् । तालिम दिन आफूसँग प्रमाणपत्र नभए पनि गाउँगाउँ किवी खेतीको बारेमा गाउँलेलाई सिकाउँछन् । किवीको हाँगा छाँटकाँट गर्न परे अचेल उनैलाई सम्झन्छन् गाउँका साथीभाइ । उनी पनि झन्झट नमानी गाउँगाउँका किवी फार्ममा गएर किवीका हाँगा छाँटकाँट गरिदिन्छन् ।
फलेको जति किवी र आलुले राम्रो बजार पाउने हो भने विदेशमा कमाउने भन्दा दोब्बर कमाउन सकिनेमा उनी ढुक्क छन् । व्यावसायिक कृषिका लागि कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गरेको रहेछ । विदेश जाने युवाहरूलाई समेत तालिम लिएर आफ्नै देशमा व्यावसायिक कृषिमा लाग्न सुझाउँछन् कुलबहादुर ।
श्रीमानले गाउँमै व्यावसायिक कृषि थाले पछि कुलबहादुरकी श्रीमती पनि खुसी छिन् । श्रीमान् विदेशमा हुँदा ५ महिनामा एउटा चिठ्ठी पढेर जीवनको गोरेटो हिँडेकी उनको आँखै अगाडि पुरै परिवार छ । श्रीमानले किवी खेती सुरु गरेपछि गाउँका धेरै युवाहरू किवी खेतीमा आकर्षित भएको देखेर उनी झनै हर्षित छिन् ।
विदेशी माटोमा पसिना बगाएर जति पैसा कमाए पनि आफ्नो देशमा कमाएको जस्तो आनन्द पाइएन कुलबहादुर भन्छन् । उनी भन्छन्–देशमा पसिना बगाउँदा नेपाली माटोमा नै सुन फल्छ । विदेश जानु भएका र जान चाहनु भएकाहरूले पनि विदेश जान अगाडि एक पटक पसिनाको मूल्य र माटोको सुगन्ध बुझ्न जरुरी छ ।
कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणले यो बेला कृषिमा ठुलो लगानी गरिरहेको छ । त्यस्तै हरेक नगरपालिका तथा गाउँपालिकाले पनि कृषिमा क्रान्ति गर्नका लागि र आत्मनिर्भर बन्न कृषिमा लगानी गरिरहेको छ । हामीले त्यसको लागि सरकारको साथ दिन पर्छ । सरकारले गरेको लगानीको संरक्षण गर्नु पर्छ अनि मात्र देशको पनि प्रगति हुन्छ ।
नेपाल आफैमा कृषि प्रधान देश हो । नेपालमा व्यावसायिक कृषि सुरु गर्न जग्गाजमिनको कुनै कमी छैन । आफूसँग मनग्य लगानी नभए नेपाल सरकारका विभिन्न निकायले अनुदानका कार्यक्रमहरू पनि अगाडि सारेको छ । विभिन्न पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अब विदेश जाने हैन जानेहरूलाई फर्काउने वातावरण बनाउन जरुरी छ कुलबहादुरले भने । हामी जस्ता कर्म गरेर खाने युवा शक्ति विदेश जान्छौँ । सरकारले दिएको अनुदान सबै कर्म गर्नेको भन्दा पनि गोजी भर्नेको हातमा जाँदा सरकारले लगानी गरेको अनुदान रकम बालुवामा पानी हेलेको जस्तो हुन पुगेको छ । अब हामी युवाहरू विदेश हैन नेपालमा बसेर विदेशमा गरेको मिहिनेत नेपालमा गर्नु पर्छ, कुलबहादुर भन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button