करोडपति बन्ने दौडमा रामेछापका डिएफओ
नवराज वि.क.। रामेछाप । वनका कर्मचारी, बिचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् ।
पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरू आउने गरेका छन् । खयरको कारोबार ठेकेदारसँग जोडिएर ठेकेदार र किसानको बिचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरूको सक्रियता पनि त्यत्तिकै देखिन्छ । आफ्नै हाताभित्रका किसानको पाखा, बारी कान्लामा हुर्किएका खयरको रुखहरूको उचित मूल्य निर्धारण गर्ने कुरामा स्थानीय तहले पनि खासै चासो देखाएका छैनन् ।
जसले गर्दा किसानहरू मारमा परेका छन् । त्यति मात्रै होइन बिचौलिया, ठेकेदार र वनका कर्मचारीबिचको अवैध लेनदेनमा दरार उत्पन्न हुने बित्तिकै धोखाधडीको खेल सुरु भइहाल्छ । त्यसपछि किसानका निजी जग्गामा कटान भएका खयरका रुखहरू त्यसै सड्ने स्थितिमा समेत पुगेका छन् । त्यसो त डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८०।८१ सङ्घ र प्रदेशमा गरी कूल ४ करोड १९ लाख ५४ हजार १ सय ८७ रुपैयाँ सङ्कलन गरेको छ । जिल्ला भित्रका विभिन्न किसानहरूको निजी नम्बरी जग्गाबाट उत्पादित खयर निकासी गर्दा मूल्य अभिवृद्धि कर ४ करोड १२ लाख ८९ हजार ४ सय ५२ रुपैयाँ र प्रदेश सेवा सञ्चित कोषमा ६ लाख ६४ हजार ७ सय ३५ रुपैयाँ कर सङ्कलन गरेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।
डिभिजन वन प्रमुख–ठेकेदारबिचको अवैध साठगाँठ
वन डिभिजन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले खयर निर्यातमा सहजीकरण गरिदिए बापत ठेकेदाहरुसँग कमिसन लिने गरेको खुलासा भएको छ । नागरिकको करबाट जम्मा भएको राज्य कोषबाट तलब, भत्ता खाएर बसेका कर्मचारीले पारदर्शी ढङ्गले सेवा प्रवाह गर्नुपर्ने हो । तर डिभिजन वन रामेछापका प्रमुख भण्डारीले कमिसन नखाएसम्म कामै गर्दैनन् । अझ भनौँ कमिसन लिएर पनि चित्त बुझेन भने व्यापारीलाई पक्राउ गर्न आदेश समेत दिन पछि पर्दैनन् डिभिजन प्रमुख भण्डारी । ठेकेदारसँग प्रति के.जी. २२ रुपैयाँसम्म कमिसन लिएर खयरको काममा सहजीकरण गर्दै आएका भण्डारीले मङ्गलवार आफैँले पत्राचार गरी रामेछापबाट खयर लोड गरेर सुनसरीतर्फ जाँदै गरेका ४ वटा ट्रक नियन्त्रणमा लिन लगाए । भण्डारीले मङ्गलवार रामेछापबाट सुनसरीको सूर्य कत्था उद्योगको नाममा ४० हजार किलोग्राम खयर लोड गरी लिएर जाँदै गरेका बा.प्र. ०१००६ ख २१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ ख ००९५ र क.प्र.०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएको भनेर नियन्त्रणमा लिन लगाए ।
डिभिजन वन रामेछापका अधिकृत ओमसागर भण्डारीले ती गाडीमा बढी माल गएको हुनसक्ने आशङ्काका आधारमा आफूहरूलाई पत्राचार गरेपछि चार वटै गाडीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सुनसरीमा राखिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए । अहिले चारवटा मालसहितको गाडी र पाँच जनालाई नियन्त्रणमा लिइएको उनले बताए । उनले भने, ‘गाडीमा बढी माल गएको छ भन्ने शङ्काको आधारमा उहाँले हामीलाई चिठी लेख्नु भएछ अनि त्यो अनुसारले हामीले त्यो गाडीलाई आफ्नो कब्जामा लिएर अनुसन्धानको क्रममा राख्या छौँ ।’
खयर व्यवसायी ठेकेदार श्याम लिम्बूले भने डिभिजन वन रामेछापका अधिकृत भण्डारी स्वयंले नै लोड गरेर छूट पुर्जी दिई पठाएको र अहिले नियतवश रूपमा आफूहरूलाई फसाएको आरोप लगाएका छन् । ठेकेदार लिम्बुले भने, ‘रामेछापबाट आएको माल हो खयरको काठ, त्यहाँको डिभिजन प्रमुख ओम सागर भण्डारी डि.एफ.ओ. भनौँ न । उहाँले आफैँ माल लोड गर्नु भो, छुट पुर्जीमा पनि आफैँले आदेश गराउनुभयो, छुट पुर्जीमा साइन गर्नुभाछ । उहाँ आफैँले चाहिँ तपाईँले सिस्टममा एउटा सिस्टम बुझाउनु भो भने चाहिँ सबै सामान मिलाएर पठाइ दिन्छु भन्नु भो । उहाँले चाहिँ सिस्टम मागेर सिस्टम बुझायौँ, सिस्टम भनेको पैसा हो, सबै चिज मिलाएर म पठाइदिन्छु, भनेर भन्नु भो, पछाडि नियन्त्रणमा लिइदिनुभयो । उहाँले नियतवश हामीलाई फसाउनुभयो ।’
ठेकेदार लिम्बूले भण्डारीले १२ रुपैयाँ आफ्नो लागि र अन्य कर्मचारीको लागि भनेर १० रुपैयाँ गरी प्रति के.जी. २२ रुपैयाँसम्म कमिसन लिने गरेको आरोप लगाए । त्यति धेरै कमिसन नलिन अनुरोध गर्दा पनि अधिकृत भण्डारीले अटेर गरेर धेरै कमिसन लिएको उनको भनाई छ ।
उनले भने, ‘उहाँले १२ रुपैयाँ के.जी. लिनुभयो । एक लाख ५० हजार के.जी. आयो । सब डिभिजनलाई गरेर २०। २२ रुपैयाँ के.जी. पुग्छ । अन्ततः त्यहाँको सब डिभिजनको वन अधिकृत छन्, त्यहाँ सबैको कमान्ड उहाँले गरेको हुनाले सबैको पैसा उहाँले लिएर के गर्नुभयो , हामीले उहाँलाई त्यति धेरै नलिनु भनेर रिकोइस्ट गर्दा पनि उहाँले मान्नु भएन । हामीले पैसा पनि दियौँ तर लास्टमा उहाँ आफैले फसाउनुभयो ।’
कटान आदेश र पुर्जीसमेत आफूहरूसँग सुरक्षित रहेको उनले बताए । उक्त माल स्थानीय ठेकेदारसँग लिएको बताउँदै लिम्बूले मालको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको पनि बताए । लिम्बूले भने, ‘पुर्जी वनले राखेको छ, कटान आदेश छ, पुर्जी छ । रामेछाप नगरपालिका वडा नं. ८ को खयर हो । रामेछापमै बस्ने एक जना पाल्देन लामा र सुजित लामा स्थानीय ठेकदार हुनुहुन्छ । उहाँले कहाँ काटेर ल्याउनुभयो, कुन ठाउँबाट काटेर ल्यायो हामीलाई केही थाहा छैन ।’
अर्का ठेकेदार देबेन्द्र बोहोराले पनि डिभिजन वन कार्यालय रामेछापका कर्मचारीले प्रति के.जी. ६ रुपैयाँसम्म कमिसन लिने गरेका आरोप लगाएका छन् । ‘वनमा छुट्टै एउटा चाहिँ सिस्टम छ, त्यो सामान्य कुरा हो । ६ रुपैयाँसम्म किलोको हिसाबले हामीले दिने ग¥या छ । पर्सनल रूपमा दिने गरेका छौँ, उनले भने ।’
डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत ओमसागर भण्डारीले भने आफूले पैसा लिएको भन्ने आरोप झुटो भएको बताए । उनले भने, ‘केही नि होइन, त्यो झुट्टा हो ।’
यता जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले घटनाबारे हालसम्म आधिकारिक जानकारी नआएको भए पनि अन्य माध्यमबाट आएका सूचनाको आधारमा सम्बन्धित पक्षलाई यस विषयमा के भएको हो भनेर बोलाइएको बताए । यस विषयसँग सम्बन्धित कागजातसहित उपस्थित हुनको लागि डिभिजन वन कार्यालय रामेछापलाई आग्रह गरिएको उनले बताए । यसरी लेनदेन गर्ने कार्य गैर कानुनी भएको बताउँदै उनले छानबिनपछि वास्तविक भए कानुन बमोजिम कारबाही हुने बताए ।
सहायक प्रजिअ न्यौपानेले भने,‘ अब यो दुई वटै विषय गैर कानुनी काम हो, कानुनको बर्खिलाप हो, अब त्यसको वास्तविकता के हो ? भन्ने कुरा पहिचान गर्नुप¥यो, यदि त्यसो हो भने त गैर कानुनी काम हो, दुई मतै रहेन । लिने पनि दिने पनि गैर कानुनी काम हो । उहाँहरूले लेनदेन गरेर कुरा नमिलेपछि मेरो यस्तो खायो भन्नु त्यो दिने मान्छे पनि गलत हो ।