साहित्य र समाजमै समर्पित, स्रष्टा जगदीश – डा.सुमन कर्माचार्य

अन्ततः २०७० कार्तिक १४ गते बिहान नेपालका एक सिद्धहस्त साहित्यकार तथा समाजसेवा क्षेत्रको अग्रणी जगदीश घिमिरेले आफ्नो ६८ वर्ष लामो जीवनको आरोह अवरोहलाई सदाका लागि विश्राम दिनुभयो । मानिस वास्तवमा उसको संकल्प र लक्ष्य अनुसारका व्यवहार र क्रियाकलापबाट महान् हुने हुन् । त्यसैले जीवनका दिन होइन, हरेक क्षणको पनि उद्देश्यपूर्ण ढंगले सदुपयोग गर्ने यी कर्मयोगी अमर व्यक्तित्वले सम्पूर्ण जीवन जिउनुको सार्थकता प्रमाणित गरेर जानुभयो । आउँदो पीढीका लागि शिक्षा र समाजले पछि छाडेका वर्गहरूलाई योगदान र आफ्नो समर्पण जिम्मा लगाएर महान् बनेर बाँचिरहने चिनो छाड्नु भयो । उहाँका जीवनीका हरेक अंश नेपाली युवायुवतीका लागि अनुकरणीय जीवनमार्ग हुन सक्छन् ।

उहाँको जीवनलाई नियाल्दा प्रस्टसँग दुई व्यक्तित्वका रूपमा परिचय गराउन सकिन्छ । एउटा नेपाली साहित्यका आख्यान लेखनका मूर्धन्य साहित्यकार, कथाकार, कवि,समालोचक तथा तिखो राजनीतिक, सामाजिक र आर्थिक पाटोका विश्लेषक र दोस्रो, नेपालमा सामाजिक सेवालाई जनस्तरबाट प्रारम्भ गर्ने गैरसरकारी संस्थाहरूका पिता तथा समाजसेवाका अग्रणी ।

उहाँले जीवनमा अन्तर्राष्ट्रिय जागिर तथा बेलायतको घर र सुखसयल छोडेर रामेछापको मन्थलीमा आएर जसरी काम गर्ने प्रण गर्नु भयो, त्यो समाजका अधिकांश मानिसहरूले सोच्ने भन्दा उल्टो दिशाको निर्णय थियो । उहाँलाई अमेरिकी कवि रवर्ट फ्रष्टको एउटा मन पर्ने उक्ति थियो, “जंगलको गोरेटोमा बाटो छुट्टियो र मैले बेचल्तीको बाटो रोजे । सबै त्यसैले फरक पारेको छ ।” उहाँले त्यो बेचल्तीको बाटो रोजेर आनन्द प्राप्त गर्नुभयो ।

कोहीले उहाँबारे विश्लेषण गर्दा २०२७ सालको लिलाम र २०३२ सालको साविती उपन्यास लेखेपछि झण्डै ३० वर्ष पछि अन्तरमनको यात्रामा आएर पुन लेखन सुरु गर्नु भएको भनेका छन् । तर तत्कालीन २० र ३० को दशकमा रूपरेखा, रचना,अभिव्यक्ति, मधुपर्कहरू मार्फत दर्जनौँ कथा, कविता, समालोचनाका साथै सन्तान नाटकको प्रकाशन साथै उहाँले पत्रकारितामा पनि आफ्नो स्थान बनाइ सक्नु भएको बुझिन्छ ।प्रसिद्ध पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको सम्पर्कमा रहेर उहाँले पत्रकारिताको सुरुवात गर्नुभएको थियो ।

नेपालमा प्रजातान्त्रिक व्यवस्था पुन स्थापना भएपछि उहाँको कलमले ४० को दशकको उत्तरार्धतिर र ५० को दशकमा पनि देशको हरेक क्षेत्रका विसङ्गतिलाई कसरी सुधार्न सकिन्छ भन्ने सुझावका साथ कुशल पत्रकारको परिचय दिनु भएको थियो । तत्कालीन अवस्थामा दलहरू र सिद्धान्तका नामले समाज र पत्रकारिता क्षेत्रपनि अनावश्यक रूपमा विभाजित थियो । तर उहाँले नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष र महाअधिवेशन प्रतिनिधि रहनु हुँदा पनि आफ्नो लेखन र अन्तर्वार्ताहरूमा निष्पक्ष रूपले विश्लेषण गर्ने पत्रकारिताको धर्मलाई सुरुवात गराउनु भएको हो । त्यसबेला नेपाल पत्रिकाको ‘चेतना भया’ नेपाली पाठकहरूको सर्वप्रिय स्तम्भका रूपमा परिचित थियो ।

जसरी साविती र लिलामले नेपाली समाजको सामन्ती चरित्रको कलात्मक विश्लेषण गरेको छ, त्यहि नै उहाँको रामेछाप जिल्लाका अति दुर्गम क्षेत्रमा झण्डै २५ वर्ष हरेक गाउँ बस्तीमा धेरै दिनसम्म हिँडेर शोषित र पीडित जनताका लागि दिगोबिकासका कामहरू गर्ने प्रेरणाका श्रोत हुन् भन्ने मेरो बुझाई छ । त्यसैले ‘मल्टिपल मायोलोमा’ सुरुवात भएको क्षण सम्म आइपुग्दा उहाँले ‘अन्तरमनको यात्रा’ लेखिने सामग्रीहरू यी समाजसेवाका कामहरू मार्फत तयार गर्दै हुनुहुन्थ्यो ।

एक कुशल भविष्यद्रष्टा र कुशल व्यवस्थापकले जे चिजको अभाव देख्यो, जे चिजको आवश्यकता देख्यो, त्यो सर्वप्रथम आफ्नो रचनाले व्यक्त ग¥यो र तामाकोसी सेवा समिति, तिलगंगा आँखा अस्पताल, कृषिबन प्रतिष्ठान, गैरसरकारी संस्था महासंघ, मन्थली बचत तथा ऋण सहकारी संस्था, तामाकोसी सहकारी अस्पताल, जगदीश घिमिरे प्रतिष्ठान नामक दर्जनौँ संस्थाहरूको जन्म गराई त्यसमार्फत योजना सहित कार्यरुपमा परिणत गरी देखाए । यसका साथै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको जागिरले उहाँलाई संसारका अन्य देशहरूको विकासको नमुनाहरूको बारे सिकाई भयो । यतिमात्रै होइन, उहाँको अध्ययनशीलताले धर्मशास्त्र, राजनीतिक शास्त्र, दर्शनशास्त्र, समाज शास्त्र, चिकित्सा शास्त्र, कृषि तथा पशुबिज्ञान लगायत विश्व साहित्य समेतको दक्खल गरायो । यी सबैको परिणाम झण्डै ५० वर्षको त्यो कार्य र अनुभवले नेपाली साहित्यको अमरकृति ‘अन्तरमनको यात्रा’को जन्म दियो । यो कृतिले २०६४ सालको मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त गर्न सफल भयो ।

यस्तै उहाँको अर्को आख्यान “सकस”ले आधुनिक नेपालको सत्य इतिहास र जनयुद्धताकाको नेपाली समाजको दुर्दशाहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । यसमा पनि उहाँको अध्ययनशीलता, चिन्तनशीलता र समाजका सूक्ष्म घटनाहरूको विश्लेषण गर्ने क्षमता प्रकट भएको छ ।

यसरी हेर्दा उहाँको जीवनमा समाज र देशलाई हेर्ने दृष्टिकोणको चेत प्रारम्भ भए देखि नै एउटा मिसनको जन्म भयो । त्यस चेतले प्रारम्भमा थोरै समयमा समाजको समस्याहरूको समाधान बन्दुकको जनयुद्धले गर्छ भन्ने भएता पनि यसबाट चाडै नै मोह भंग भयो । स्वाभिमानी भएर स्वतन्त्र जीवन जिउन पैसाको पनि आवश्यकता पर्ने भएकोले अध्ययनलाई पनि सुचारु राख्नु भयो । कुनै बेला खाजा खान समेत सकस भएको सम्झनु हुँदै अन्तरमनको यात्रामा उहाँले कुनै समय नेपालको धेरै तलव खाने व्यक्ति भएको पनि व्यक्त गर्नु भएको छ । एक अन्तरवार्तामा उहाँले आफ्नो जीवनको निष्कर्षको वाक्य “जीवनमा पैसा र नाम दुवै चाहिन्छ” भन्नु भएको छ । त्यसैले त्यो सुख सयल र पैसाले मात्र उहाँलाई जीवन भर डो¥याएन, राष्ट्र र समाज प्रतिको दायित्व बोधले बेचल्तीको बाटो हिँडायो । उजाड मन्थली र रामेछापको उकालो ओरालो हिँडायो । जसले जीवनको प्रारम्भमा नै बनाएको मिसनलाई बन्दुकले होइन, दिमागले सार्थकतामा परिणत गरी देखायो । नेपालको ग्रामीण विकासको मोडेलको खाका तयार ग¥यो । जो हाम्रा सामु अनुकरणीय उदाहरणको पढ्नु पर्ने पुस्तक र गर्नु पर्ने कर्मका रूपमा रहेको छ । अव हाम्रा लागि यो चुनौती हो, कि हामी उहाँको सम्झनामा समवेदना र श्रद्धाञ्जली मात्र व्यक्त गर्ने छौ या यो दिगो विकासका उदाहरणहरू मार्फत नभएका ग्रामीण बस्ती र जनतामा यसै गरी उज्यालो पुर्याउछौं ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button