अस्पतालको उपचारबाट निराश भएपछि झाँक्री खोज्छन् बिरामी
काठमाडौँ सहर जहाँ स्वास्थ्य उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न अस्पतालहरू छन् । पाइलैपिच्छे क्लिनिक र स्वास्थ्य चौकीहरू पनि छन् । ग्रामीण क्षेत्रका पालिकाहरूले पनि ठुलठुला अस्पतालहरू सञ्चालनमा ल्याई सकेका छन् । पालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा उपचार हुन नसके काठमाडौँका अस्पताल र स्वास्थ्यकर्मी नै अन्तिम विकल्प मानिन्छन् । वैज्ञानिक युग भए पनि आधुनिक सहरमा उपचारका लागि धामी, झाँक्री खोज्ने बिरामी धैरै भेटिन्छन् ।
अस्पतालको उपचार गर्दा–गर्दा निराश भएका र धनसम्पत्ति गुमाएर हार खाएकाहरू तान्त्रिक विधिको उपचारका निम्ति पुग्ने गर्छन् । विगतमा ग्रामीण क्षेत्रमा ‘भगवान् भरोसा’ परम्परागत स्वास्थ्य उपचारको विकल्प थिएन । तर, प्रविधिको उच्चतम प्रयोग भइराखेको वैज्ञानिक युगमा धामीको विश्वास गर्नेको संख्या कम छैन । अझै पनि धामी झाँक्रीमा विश्वास गरेर कैयौँ मानिसहरू बिरामी लिएर उपचारका लागि पुग्छन् ।
काठमाडौँको स्वयम्भू कारखाना चोकस्थित एक धामी झाँक्री आश्रम छ । सोही आश्रममा बसेर दैनिक सयौँ बिरामीलाई सेवा दिने गरेको प्रतीक बोहरा बताउँछन् । “काम्ने, छोप्ने, एक्कासि बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो”, बोहराले भने । धामी, झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन बढ्दै गएकोप्रति उनी असन्तुष्ट छन् ।
यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री संघकाले अनुगमन टोली बनाएको छ । व्यापारिक हिसाबले भन्दा पनि परम्परा र संस्कारको संरक्षणका लागि यो काम गर्नुपर्ने उनको भनाइ छ । उनी धामी, झाँक्री र माताहरूले मनपरी उपचार शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि संघको अनुगमन टोली बेलाबेलामा आएको बताउँछन् । उनी संघको नीति नियममा रही सेवाभावले उपचार गरेको बताउँछन् ।
२० हजारदेखि एक लाखसम्म उपचार शुल्क लिनु गलत भएको उनको भनाइ छ । उपचारको नाममा पछिल्लो समय दुर्व्यवहार र अपराध गर्नेलाई कारबाही गर्न सकियो भने सेवाभावले उपचार गर्नेहरूको नाम बदनाम नहुने बोहराको भनाई छ ।
‘‘यो व्यवसाय होइन, संस्कारको रूपमा विकास हुनुपर्छ’’, बोहरा भन्छन् । विकृतिको रूपमा फैलिँदै गएको धामी झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनको भनाइ छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका घर भएका बोहरा सानै उमेरमा आफ्नो शरीरमा झाँक्री चढेको बताउँछन् । “मेरो जूजू बाजे, बाजे, बुबा सबै जान्ने झाँक्री हुनुहुन्थ्यो”, उनले भने ।
लामो समयदेखि उनी यस क्षेत्रमा छन् । बोहरा पनि नेपाल झाँक्री संघमा संगठित छन् । पहिले कुन जमिनमा घर बनाउँदा ठिक हुने, कतापट्टि फर्काउने, मूल ढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र यसको शुभ साइत झाँक्रीले नै भन्ने गरेको उनी स्मरण गर्छन् । मानवीय विकाससँगै अस्पतालको उपचारलाई जोड दिनुपर्ने भन्दै उनले सकेसम्म पीडितको निःशुल्क सेवा गर्न र झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।