पीडितको डरले प्रशासनको निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यालय आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।
आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ । यस्ता कार्यक्रमले विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने वा हुलदङ्गा वा अशान्ति हुन सक्ने सम्भावना रहेकोले समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गरी आसपासको क्षेत्रमा माघ १४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम समेत गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको हो ।
उक्त निषेधाज्ञामा मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिना सम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको पनि उल्लेख गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ ले निषेधाज्ञाको स्पष्ट परिभाषा नगरेको भए तापनि दफा ६ क विशेषतः ऐ ऐनको दफा ६क अनुसार कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा भनेको प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । भन्ने व्यवस्था बाट तोकिएको कार्य बाहेकका कार्य गर्न निषेध गरिएको प्रशासनिक प्रयासलाई निषेधाज्ञा भनी बुझ्न सकिन्छ ।
आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउन स्थानीय प्रशासन ऐनमा लेखिएको त छ । रामेछापका प्रजिअ अनिता निरौलाले पनि यही ऐनलाई टेकेर निषेधाज्ञा जारी गरेको हो । तर रामेछापको मन्थलीमा त्यस्तो कुन चाँही आन्दोलन वा हुलदङ्गा भई शान्ति भंग हुने जाने देखियो ?
जिल्ला प्रशासन कार्यालय रामेछापको गेटबाट अनसनरत बिनु यादवलाई हटाउनासाथ प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिनु यादव अनसनमा बस्दा उनलाई प्रशासनको मुलगेटबाट हटाउने र निषेधित क्षेत्र घोषणा गर्ने प्रजिअ निरौलाको पूर्व तयारी नै थियो ।
विशेषतः बिनु यादव अनसन बस्दा प्रशासनिक काममा असर पुगेकोले नै निषेधाज्ञा जारी गर्न परेको सूचना अधिकारी प्रकाश प्रधानले बताए । उनले भने – बिनुको अनसनले प्रशासनको काममा बाधा पुग्यो, यस्तो घटना फेरी पनि हुन सक्ने हुनाले निधेषाज्ञा जारी गरिएको हो ।
प्रशासनले निषेधाज्ञा जारी गर्नु केवल नाटक मात्र भएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । उनी भन्छन् – मन्थलीमा कुनै पनि हिंसात्मक कार्यहरू नभएको र हुने सम्भाव्यतापनि देखिएको छैन । प्रशासनले निषेधाज्ञा जारी गर्नु केवल नाटक मात्र हो ।
प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि मन्थलीमा शान्ति सुरक्षामा खलल पुग्ने खालका घटनाहरू भने केही देखिएका छैनन् । केही दिन अघि ५ दिन सम्म अनसन बसेर हिँडेकी रामेछाप नगरपालिका वडा नं १ की बिनु यादवले पुनः अनसन बस्न सक्ने वा उनको सम्भावित आगमनलाई मध्य नजर राखी रामेछाप प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको प्रष्ट भएको छ ।