Trending

भीमफेदी चिसापानी ईभी हाइस दुर्घटनामा चालक सहित ११ जनाको मृत्यु, ६ घाइतेमृतकमध्ये १० जना सर्लाहीको एउटै गाउँका

मकवानपुर । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटना हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहान करिब ५:४५ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चालकबाहेक १० जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका बासिन्दा हुन् । जसमा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीसमेत परेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकरकुमार मण्डल रहेका छन् । यस्तै, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादवको पनि मृत्यु भएको छ ।

सोही टोलका ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवीले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । मृतक अन्यमा सुन्दरपुरटोलकै २६ वर्षीय बिकेश यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनाको जानकारी बिहान ५:५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा टोली खटिएको थियो । भिर अप्ठ्यारो भएकाले उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नेपाली सेना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको संयुक्त टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा बिहान ८:१५ बजे १० जनाको शव र घाइतेहरूलाई भिरबाट निकालिएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनाको विवरण खुलेको छ । घाइते हुनेहरूमा सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव र मृतक गुड्डु यादवका ५ वर्षीय छोरा सक्षमकुमार यादव रहेका छन् । टाउको, ढाड तथा शरीरका भित्री भागमा सामान्य चोट लागेका उनीहरू दुवै जना उपचारपछि दिउँसो १:४० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, गुड्डु यादवकै ३ वर्षीय छोरा सुजन यादवको टाउको र मुखमा मध्यम चोट लागेको छ । उनलाई दिउँसो १:४० बजे थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button