लेख बहादुर कार्कीद्वारा रामेछाप कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति तथा महाधिवेशन प्रतिनिधि लेखबहादुर कार्कीले पार्टीको आगामी १५ औँ जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मातृवियोगको शोकमा रहेका कार्कीले आमाको निधनपछिको दुःखद घडीलाई शक्तिमा बदल्दै पार्टी र रामेछापवासीको सेवामा पुनः सक्रिय हुने अठोटका साथ आफ्नो उम्मेदवारी सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्।
नेपाल विद्यार्थी सङ्घको विद्यालय कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीसँग नेविसंघ र नेपाल तरुण दलको जिल्ला अध्यक्ष, क्षेत्र नं. १ को सचिव र सभापति, तथा जिल्ला कार्यसमितिको सचिव, उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेको लामो अनुभव छ। संगठन निर्माण, परिचालन र प्रशिक्षणमा लामो समय बिताएका उनले आफ्नो उम्मेदवारी कुनै व्यक्ति या समूहविरुद्ध नभई रामेछाप कांग्रेसमा एकता, सहकार्य र आपसी विश्वास अभिवृद्धि गर्नका लागि भएको बताएका छन्।
कार्कीले आफू सभापति निर्वाचित भएमा एक कार्यकाल मात्र जिम्मेवारीमा रहने र आफ्नो कार्यकालभरि अन्य कुनै पनि जनप्रतिनिधिको पदमा दाबी नगर्ने घोषणा गरेका छन्। पार्टीलाई गुटबन्दीभन्दा माथि उठाएर विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै उनले तल्लो तहका वडा, पालिका र प्रदेश क्षेत्रीय समितिहरूलाई उम्मेदवार छनोटमा पूर्ण अधिकार दिने र माथिबाट कुनै हस्तक्षेप हुन नदिने स्पष्ट पारेका छन्।
पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने योजना अघि सार्दै कार्कीले जिल्लाका सबै ६४ वटै वडामा प्रशिक्षण कार्यक्रम पुर्याउने र महिनाको एक पटक केन्द्रीय नेताहरूको सहभागितामा अनलाइन प्रशिक्षण सञ्चालन गर्ने बताए। साथै, विपत्तिमा परेका नागरिक र कार्यकर्ताको सहयोगका लागि आकस्मिक हितकोष स्थापना गर्ने, युवा तथा ‘जेन-जी’ पुस्तालाई नेतृत्वमा अघि बढाउने, र हरेक वर्ष जिल्लाका उत्कृष्ट कृषक, विद्यार्थी, खेलाडी तथा अग्रजहरूलाई सम्मान गर्ने परिपाटी बसाल्ने उनको योजना छ।
अग्रजको सम्मान, युवाको ऊर्जा र नयाँ पुस्ताको उत्साहलाई समेटेर जिल्लाको समग्र विकासका लागि अन्य राजनीतिक दलहरूसँग पनि साझा दृष्टिकोण बनाउने पहल गर्ने कार्कीले बताएका छन्। उनले सशक्त, एकताबद्ध र जनमुखी रामेछाप कांग्रेस निर्माणको अभियानमा सबै क्रियाशील सदस्य, नेता तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गरेका छन्।



