अनुभवको जगमा युवा ऊर्जा

नेपाली राजनीति र कांग्रेसको सङ्गठन यतिबेला एउटा गम्भीर मोडमा छ । २०८२ भाद्र २३ र २४ को जेन्जी आन्दोलनपछि उत्पन्न बदलिँदो राजनीति, १५ औँ महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा केन्द्रीय टोली चयन भइसकेको अवस्था, र अब जिल्ला तहमा हुन गइरहेको नेतृत्व चयनको बहसमा केन्द्रित रहेर लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस रामेछापका सभापतिका उम्मेदवार केशव महत सँग गरिएको संवादको सम्पादित अंशः
२०८२ भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनले सिङ्गो देशको राजनीतिलाई नै तरङ्गित बनाइदियो । एक स्थानीय जनप्रतिनिधि र राजनीतिकर्मीका रूपमा त्यो आन्दोलन र त्यसपछिको हेरफेरलाई कसरी लिनुभएको छ ?
भाद्र २३ र २४ को जेन्जी आन्दोलन केवल एउटा सडक प्रदर्शन वा क्षणिक आक्रोश मात्र थिएन । त्यो त दशकौँदेखि गुम्सिएको युवा पुस्ताको असन्तोष, परम्परागत राजनीतिक शैलीप्रतिको वितृष्णा र तीव्र रूपान्तरणको खबरदारी थियो । नयाँ पुस्ताले प्रविधि, पारदर्शिता, र नतिजामुखी राजनीति खोजिरहेको छ भन्ने स्पष्ट सन्देश त्यो आन्दोलनले दियो ।
यसले देशका सबै स्थापित दलहरूलाई “कि बदलियौ, कि सकियौ“ भन्ने विन्दुमा पु¥याइदियो । नेपाली कांग्रेस जस्तो जीवन्त र इतिहास बोकेको लोकतान्त्रिक पार्टीले त्यो जनआवाजलाई नसुन्ने कुरै थिएन । त्यसैले, जेन्जी आन्दोलनले सिर्जना गरेको राप र चापले कांग्रेसलाई आन्तरिक रूपमै रूपान्तरण हुन पूर्ण रूपमा बाध्य गरायो ।
रूपान्तरणको जगमा कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न भयो र गगन कुमार थापाको नेतृत्वमा केन्द्रीय टोली आयो । यसले तल्लो तहमा कस्तो सन्देश दिएको छ ?
१५ औँ महाधिवेशनमार्फत आदरणीय नेता गगन कुमार थापाको नेतृत्वमा केन्द्रीय टोली चयन हुनु नेपाली कांग्रेसको इतिहासमा एउटा ऐतिहासिक ब्रेकथ्रु हो । यसले आम कार्यकर्ता र नागरिकमा नयाँ आशाको सञ्चार गरेको छ ।
तर, काठमाडौँ वा केन्द्रमा नेतृत्व परिवर्तन हुनु मात्रै सम्पूर्ण रूपान्तरण होइन । केन्द्रमा देखिएको यो परिवर्तनको पराकम्प अब ७७ वटै जिल्ला अधिवेशनहरूमा पुग्नुपर्छ । ७७ वटै जिल्लामा “अधिवेशनबाट कस्तो र कुन उमेर समूहको नेतृत्व आउनुपर्छ?“ भन्नेबारे निकै गहन र जीवन्त बहस सुरु भएको छ । केन्द्रीय नेतृत्व चयनको नजिरले अब जिल्ला–जिल्लामा पनि परम्परागत ढर्राबाट बाहिर निस्किएर कार्यशैली र सोचमा क्रान्ति ल्याउन सक्ने नेतृत्वको माग गरेको छ ।
जिल्ला तहमा नेतृत्वको बहस भइरहँदा एकातिर पुरानो पुस्ता छ, अर्कोतिर एकदमै युवा पुस्ता छ । यी दुईबीच त ठूलै रस्साकस्सी र द्वन्द्व देखिन्छ नि ?
हो, बाहिरबाट हेर्दा यो टकराव वा द्वन्द्व जस्तो देखिन सक्छ, तर म यसलाई द्वन्द्व भन्दा पनि एउटा सांस्कृतिक र पुस्तान्तरणको सङ्क्रमणकाल भन्छु ।
एउटा वास्तविकता के हो भने, पार्टीलाई कठोर पञ्चायती व्यवस्था, सशस्त्र द्वन्द्व, र अनेकौँ सङ्कटबाट बचाएर यहाँसम्म ल्याउन पुरानो पुस्ताले ठूलो त्याग, बलिदान र रगत–पसिना बगाएका छन् । उहाँहरूको त्यो योगदानलाई बिर्सेर एकाएक पाखा लगाउन मिल्दैन । उहाँहरूको सम्मानजनक र गौरवपूर्ण बिदाइ हुनुपर्छ ।
अर्कोतर्फ, जोस, नयाँ सोच, प्रविधिको ज्ञान र परिवर्तनको हुटहुटी बोकेको युवा पुस्ता छ, जो नेतृत्व लिन आतुर छ । यदि हामीले युवालाई पाखा लगायौँ भने पार्टी समयभन्दा पछाडि पर्छ; र यदि पुरानालाई एकाएक उपेक्षा गर्यौँ भने पार्टीको जग र अनुभव नै ढल्छ ।
त्यसो भए यो दुई पुस्ताको चेपुवा वा विरोधाभासलाई सुल्झाउने सूत्र के हो त ?
यसको सहज र एकमात्र सूत्र हो ’सेतु पुस्ता’ को नेतृत्व ! आजको राजनीतिमा न त केवल अनुभव मात्र भएर पुग्छ, न त केवल जोस मात्र भएर पुग्छ । आज दुवै पुस्तालाई जोड्न सक्ने कडीको आवश्यकता छ । पुरानो पुस्ताको त्याग र अनुभवको जगमा उभिएर युवा पुस्ताको ऊर्जा र विचारलाई अगाडि बढाउन सक्ने मध्यमार्गी र परिपक्व नेतृत्व नै आजको आवश्यकता हो ।
सेतु नेतृत्वले पुरानो पुस्ताबाट अभिभावकत्व र मार्गदर्शन लिन्छ भने युवा पुस्तालाई निर्णय प्रक्रियामा अग्रस्थान दिन्छ । यसले पार्टीभित्र हुनसक्ने पुस्तान्तरणको सम्भावित सङ्कट वा द्वन्द्वलाई टालेर सिङ्गो पार्टीलाई एकताबद्ध र गतिशील बनाउँछ ।
तपाईं आफैँ लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ र अब रामेछाप कांग्रेसको सभापतिको उम्मेदवार बन्दै हुनुहुन्छ । रामेछाप कांग्रेसलाई अगाडि बढाउन तपाईंसँग कस्तो खाका छ?
म स्थानीय सरकारको नेतृत्व गरिरहेका कारण जनताका दैनन्दिन दुःख, विकासका आवश्यकता र युवाका अपेक्षासँग प्रत्यक्ष जोडिएको छु । मैले कार्यपालिका सम्हाल्दा हासिल गरेको प्रशासनिक र विकास निर्माणको अनुभव तथा पार्टी सङ्गठनमा लामो समय खट्दा कमाएको राजनीतिक परिपक्वता नै मेरो सबैभन्दा ठूलो पुँजी हो ।
यदि रामेछाप कांग्रेसका साथीहरूले मलाई सभापतिको रूपमा विश्वास गर्नुभयो भने, मेरो मुख्य प्राथमिकता रामेछापमा कांग्रेसलाई ’गुटमुक्त, पारदर्शी र आधुनिक’ बनाउनेछु ।
१. अनुभव र युवाको सन्तुलनः पुरानो पुस्तालाई उच्च सम्मान र सल्लाहकारको भूमिकामा राख्दै युवाहरूलाई सङ्गठनको अग्रभागमा परिचालन गर्नेछु ।
२. गुटबन्दीको अन्त्यः पार्टीभित्रको आन्तरिक गुटबन्दी र गुटगत पूर्वाग्रहलाई पूर्णतः समाप्त गरी ’मूल्याङ्कनमा आधारित अवसर’को परिपाटी बसाल्नेछु ।
३. जनतासँग जोडिने कार्यक्रमः चुनावका बेला मात्र होइन, सधैँ जनताको सुख–दुःखमा घरदैलोमा पुग्ने गरी रामेछाप कांग्रेसलाई गतिशील बनाउनेछु ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
समयले हामीसँग नयाँ सोच र नयाँ सङ्कल्प मागेको छ । जेन्जी आन्दोलनले दिएको सन्देश र १५ औँ महाधिवेशनले बनाएको ऊर्जालाई हामीले मर्न दिनु हुँदैन ।
रामेछाप कांग्रेसलाई आगामी दिनमा जिल्लाकै पहिलो र सबैभन्दा भरपर्दो राजनीतिक शक्ति बनाउनका लागि पुरानो पुस्ताको आशीर्वाद र नयाँ पुस्ताको साथको म अपेक्षा गर्दछु । आउनुहोस्, हामी सबै मिलेर अनुभव र उत्साहको सुन्दर सङ्गम बनाऔँ र रामेछापमा एउटा सशक्त, एकताबद्ध र समृद्ध कांग्रेसको निर्माण गरौँ । अन्त्यमा, विजयादशमी तथा बडादसैँको पावन अवसरमा समस्त रामेछापवासी दाजुभाइ, दिदीबहिनी एवं सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानीले हामी सबैमा व्याप्त आपसी विभेद र निराशा अन्त्य गरी एकता, नयाँ उत्साह र समृद्धिको मार्गमा अघि बढ्ने शक्ति प्रदान गरून् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button