सुनापतिमा ‘भ्रमण वर्ष-२०८३’ को शङ्खघोष: १९ गन्तव्य पर्यटन सर्किट बन्ने, १५ हजार बढी पर्यटक भित्र्याउने लक्ष्य

सुनापतिमा ‘भ्रमण वर्ष-२०८३’ को शङ्खघोष: १९ गन्तव्य पर्यटन सर्किट बन्ने, १५ हजार बढी पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौ । रामेछापको सुनापति गाउँपालिकाले ‘सुनापति भ्रमण वर्ष-२०८३’, बालमैत्री स्थानीय शासन घोषणा तथा ‘सुनापति पर्यटन महोत्सव-२०८३’ लाई लक्षित गर्दै राजधानी काठमाडौँमा एक विशेष लगानी तथा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। ‘धार्मिक आस्था, सांस्कृतिक पहिचान, पर्यटन विकास–सुनापतिको अभियान’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा सुनापतिलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक र कृषि पर्यटनको एक प्रमुख आकर्षक गन्तव्यका रूपमा विकास गर्ने बृहत् तथा महत्त्वाकांक्षी योजना सार्वजनिक गरिएको हो।

बागमती प्रदेशका माननीय युवराज चौलागाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले गर्नुभएको थियो। कार्यक्रममार्फत गाउँपालिकाले सुनापतिको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै स्थानीय आर्थिक समृद्धिको दरिलो आधार निर्माण गर्ने अङ्गीकार गरेको छ।

यसै अभियानअन्तर्गत आगामी २०८३ साल मङ्सिर २५, २६ र २७ गते तीन दिनसम्म सुनापति डाँडामा ‘सुनापति पर्यटन महोत्सव तथा भ्रमण वर्ष विशेष महोत्सव’ भव्य रूपमा आयोजना हुने भएको छ। करिब १ करोड रुपैयाँ अनुमानित लागत रहेको यस महोत्सवमा १५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दा र अवलोकनकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवको उद्घाटन आगामी मङ्सिर २५ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रमुख अतिथिका रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

गाउँपालिकाले सुनापतिभित्र रहेका १९ वटा महत्त्वपूर्ण पर्यटकीय स्थललाई प्राथमिकतामा राखेर व्यवस्थित ‘पर्यटन सर्किट’ का रूपमा विकास गर्ने ठोस अवधारणा अघि सारेको छ। नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश सुनापति डाँडा तथा त्यहाँस्थित १०८ लहरे माने, महादेवको विशाल मूर्ति, सेतो मच्छिन्द्रनाथको मूर्ति, लामाटोलस्थित पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान र लखपति छ्योर्तेन डाँडालगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

सुनापति डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा व्यवस्थित रूपमा विकसित गर्ने परियोजना अन्तर्गत पदमार्ग तथा सिँढी सुधार, पार्किङ, खानेपानी, शौचालय, दृश्यावलोकन स्थल, क्याफे, स्थानीय उत्पादन बिक्री केन्द्र र डिजिटल सूचना प्रणालीजस्ता आवश्यक पूर्वाधार निर्माण गरिनेछ। उक्त प्रस्तावित विकास परियोजनाबाट प्रत्यक्ष रूपमा १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना हुने प्रारम्भिक लक्ष्य लिइएको छ।

पर्यटनसँगै कृषि, स्थानीय उत्पादन, घरेलु उद्योग र उद्यमशीलतालाई सुनापतिको आर्थिक समृद्धिको अर्को बलियो खम्बाका रूपमा अघि बढाइनेछ। गाउँपालिकामा उत्पादित आलु, फलफूल, तरकारी, खाद्यान्न, हस्तकला तथा मौलिक परिकारलाई व्यावसायिक उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनसँग जोडिँदै काठमाडौँलगायत देशका विभिन्न बजार र सम्भव भएसम्म अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाइएको छ। यसबाट स्थानीय किसान तथा उद्यमीहरूको आम्दानी वृद्धि हुनुका साथै नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।

ग्रामीण पर्यटन, होमस्टे, होटल, रिसोर्ट, साहसिक पर्यटन, स्थानीय खानाका परिकार र सांस्कृतिक पर्यटनको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अघि सारिएको छ। यसमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सहकारी, विकास साझेदार, स्थानीय युवा र महिला उद्यमीहरूलाई सहभागी हुन आह्वान गरिएको छ। गाउँपालिकाले लगानीमैत्री वातावरण निर्माण, आवश्यक नीतिगत सहजीकरण, पारदर्शी प्रक्रिया र सम्भावित परियोजनाको अध्ययनमार्फत लगानीकर्तासँग नजिकबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महोत्सवको सांस्कृतिक पाटोलाई पनि विशेष प्राथमिकता दिइएको छ। कार्यक्रममा ख्यातिप्राप्त गायक विश्व दोङलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, तामाङ समुदायको मौलिक संस्कृति झल्काउने डम्फु तथा टुङ्नाका धुनहरू, साहित्य, सिर्जना, कला र विभिन्न खेलकुदका कार्यक्रमहरू समावेश गरिनेछन्। सुनापतिलाई केवल घुम्न आउने स्थान मात्र नभई केही दिन बिताउने, स्थानीय उत्पादनको स्वाद लिने र मौलिक संस्कृति प्रत्यक्ष अनुभव गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘सुनापति जाऔँ, प्रकृति र संस्कृति चिनौँ’ भन्ने अभियान सञ्चालन गरिएको छ।

पर्यटन विकासका नाममा स्थानीय धर्म, संस्कृति, मौलिक पहिचान र प्राकृतिक सम्पदामा कुनै पनि किसिमको प्रतिकूल असर पर्न नदिनतर्फ गाउँपालिका सचेत रहेको छ। वातावरणमैत्री पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, वृक्षरोपण, विपद् जोखिम न्यूनीकरण र नियमित मर्मतसम्भारलाई दिगो पर्यटन विकासका अपरिहार्य आधारका रूपमा आत्मसात् गरिएको छ। यसै वर्षलाई ‘सुनापति भ्रमण वर्ष-२०८३’ का रूपमा मनाउँदै पर्यटन महोत्सव र बालमैत्री स्थानीय शासन घोषणासम्बन्धी कार्यक्रमहरूलाई एकीकृत रूपमा अघि बढाइएको छ। समग्रमा, यी विविध कार्यक्रमहरूले सुनापतिलाई ऐतिहासिक, धार्मिक र आर्थिक समृद्धिको उदीयमान पर्यटकीय हबका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button