जनताको सेवाका लागि कार्यालयको पर्खाइ छैन: लिखुतामाकोशी गाउँपालिका–५ का वडा अध्यक्ष तामाङको बिच बाटोमै सेवा
रामेछाप । “जनताको काम गर्न न कार्यालय चाहिँदैन, न त समय नै पर्खिनुपर्छ; केवल असल र जनउत्तरदायी प्रतिनिधि चाहिन्छ” भन्ने ज्वलन्त उदाहरण रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रोम बहादुर तामाङले प्रस्तुत गरेका छन्।
कार्यालयको चार किल्लाभित्र मात्र सीमित नरही जनताको सेवामा सधैँ तत्पर रहने अध्यक्ष तामाङले बिच बाटोमै सेवाग्राहीका कामहरू सम्पादन गर्दै आएका छन्। उनको यो अनौठो र जनमुखी कार्यशैलीप्रतिको समर्पणले स्थानीय बासिन्दाहरूमा ठूलो खुसी र कौतुहल छाएको छ।
स्थानीय जनताको समस्यालाई आफ्नै समस्या ठान्ने अध्यक्ष तामाङले दैनिक प्रशासनिक झन्झट र समयसीमाभन्दा माथि उठेर काम गर्दै आएका छन्। सेवाग्राहीलाई वडा कार्यालय धाउन नपरोस् र उनीहरूको अमूल्य समय तथा यातायात खर्च बचेको होस् भनी उनले बाटाघाटा, चोक र गाउँघरमै पुगेर कागजात प्रमाणीकरण तथा सिफारिस जस्ता अत्यावश्यक सेवाहरू प्रदान गर्ने गरेका छन्।
वडा अध्यक्ष तामाङको यो निस्वार्थ र व्यावहारिक कार्यशैलीले स्थानीय जनतालाई निकै प्रभावित पारेको छ। “नेता र जनप्रतिनिधि भनेका शासक होइनन्, सेवक हुन्” भन्ने मर्मलाई उनले आफ्नो कार्यव्यवहारबाट सिद्ध गरिदिएको गाउँपालिका अध्यक्ष केशव महतको भनाइ छ। यस प्रकारका जनप्रतिनिधि भएमा गाउँठाउँको मुहार फेर्न धेरै समय नलाग्ने उनीहरूको विश्वास छ।
जनताको घरदैलोमै पुगेर वा बाटोमै भेटघाट हुँदा समेत समस्याको तत्काल समाधान गरिदिने अध्यक्ष तामाङको यो कदमले स्थानीय तहमा जनप्रतिनिधिप्रतिको जनविश्वास अझ बलियो बनाएको छ।



