सुनकोशी नदीमा टाटा सुमो दुर्घटना: ३ जनाको मृत्यु, ३ जना बेपत्ता
सिन्धुली । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–६, कालिमाटीस्थित सुनकोशी नदीमा उक्त दुर्घटना भएको हो। घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीय बासिन्दाका अनुसार गाडीमा चालकसहित १० जना सवार थिए।
दुर्घटनामा परी हालसम्म ३ जनाको शव फेला परेको छ भने अन्य ३ जना अझै बेपत्ता छन्। नदीमा आधा डुबेको अवस्थामा रहेको टाटा सुमो (नम्बर २९७६) बाट ४ जनाको भने सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएका घाइतेहरूलाई थप उपचारका लागि घुर्मीतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी र स्थानीय बासिन्दाद्वारा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ। दुर्घटनाको विस्तृत विवरण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ।



