डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” (अनाख्यान) कृति लोकार्पित

काठमाडौं । साहित्यिक पत्रकार संघ द्वारा आयोजित कार्यक्रममा सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” को लोकार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले “कात्रोमा खल्ती” लोकार्पण गरेका थिए ।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लेकालीले २०३८ सालमा संघले बी पी कोइरालाको अभिनन्दन गरेको स्मरण गर्दै कृतिकार डा. कर्माचार्यको साहित्यिक योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा कृतिकार डा. सुमन कर्माचार्यलाई आयोजक संस्थाले तर्फबाट डा. कोइरालाले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालाले डा. सुमन कर्माचार्य प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भएको बताउँदै उहाँले गरीब दुखीहरूको स्वास्थ्योपचारमा दिनुभएको योगदान उल्लेखनीय रहेको भएको बताए । डा. कोइरालाले वर्तमान राजनीतिक स्थितिप्रति चिन्ता व्यक्त गर्दै अहिले राज्य संन्यत्र बिचौलियाहरूले चलाइ रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाहरूले पार्टी, सरकार र नेताहरूमा रहेका विकृति र विसङ्गतिहरूलाई स्पष्ट रूपमा देखाएको धारणा राखे।
यसैगरी कृतिका सम्पादक विमल भौकाजीले लेखक र आफू एउटै गाउँठाउँमा हुर्केको बताउँदै उनी बहुमुखी प्रतिभा भएको व्यक्ति रहेको बताए ।
कार्यक्रममा कृतिकार डा. कर्माचार्यले बीपी, गणेशमान र किशुनजी आफ्नो आदर्श भएको बताउँदै आफूले सधैं त्यही आदर्श बोकेर अहिलेसम्मको यात्रा तय गरेको बताए ।
वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले आफ्नो विचारप्रति प्रतिबद्ध डा. कर्माचार्यजस्तो व्यक्ति अहिले पाउन गाह्रो भएको बताउँदै बधाई ज्ञापन गरेका थिए।
कार्यक्रममा साहित्यकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।