Trending

नारकीय जीवनबाट मुक्त भए दिनेश

रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकी अहिले नरकीय जीवनबाट मुक्त भएका छन् । उनको यात्रा कालकोठरीबाट काठमाडौंतर्फ मोडिएको छ। तर यो यात्रा सामान्य होइन, यो मुक्ति यात्राको सुरुवात हो । दशकभन्दा लामो “नरकीय जीवन” जिइरहेका दिनेशको मानव सेवा आश्रम रानीवन शाखाले उद्दार गरेको हो । मानसिक सन्तुलन गुमाएपछि अन्धकारमय बन्दै गएको उनको जीवन अब फेरि उज्यालोतर्फ फर्किँदैछ ।
२०७२ सालको विनाशकारी भूकम्प आउँदा दिनेश घरको दोस्रो तल्लामा थिए । जमिन हल्लिँदा उनले ज्यान जोगाउन हाम फाले । ज्यान त जोगियो, तर त्यस क्षणले उनको मनोविज्ञानमा गहिरो चोट पु¥यायो । परिवारका अनुसार उनी त्यसअघि असाधारण मेधावी थिए, नौ कक्षा पढ्दै गर्दा गाउँका अभिमानसमेत बनेका थिए । भूकम्पपछि भने उनको व्यवहार विस्तारै बदलिन थाल्यो । बोल्ने, हिँड्ने, हाँस्ने तरिका अजीब भयो, कहिले अचानक गीत गाउने, कहिले नाच्न थाल्ने उनि।
परिवारले सुरुमा यो सामान्य तनाव हो भन्ने ठाने । तर अवस्था बिग्रँदै गयो । डाक्टरलाई देखाए, औषधि गराए, झारफुक गरे, तर परिणाम शून्य। आर्थिक बोझले पनि परिवारलाई थिच्दै गयो। लाखौँ खर्च हुँदा पनि उनी पहिले जस्तो बनेनन् । समयसँगै मानसिक रोगले उनलाई पूरै कब्जा ग¥यो, अनि परिवार असहाय बन्‍यो ।
गत भदौदेखि त अवस्था यति बिग्रियो कि परिवारले उनलाई घरभित्रै फलामे बार लगाएर कोठामा थुन्यो । त्यो कोठा, जहाँ एक मानवको अस्तित्व सास मात्र लिँदै थियो, चारैतिर अन्धकार, फलामे बारको पिँजडा, शौचालय पनि त्यहीँ, खाना र निद्रा पनि त्यहीँ । न कुनै उपचार, न कुनै संवाद, केवल कैदी झैँ जीवन।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले दिनेश बुढाथोकीको उद्दारप्रति सन्तोष व्यक्त गर्दै यो घटना गाउँपालिकाका लागि गम्भीर आत्ममन्थनको विषय बनेको बताए। उनले भने, “दिनेशको अवस्था थाहा पाएपछि हामी सबै स्तब्ध भयौं। हाम्रो गाउँमै यस्तो पीडादायी अवस्था लुकेर बसिरहेको भन्ने कुरा सोच्दा मन पोल्छ। स्थानीय सरकारले हरेक नागरिकको स्वास्थ्य र सुरक्षामा जिम्मेवार हुनुपर्छ भन्ने सम्झना दिलाएको छ यो घटनाले।”

अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो अवस्थाका व्यक्तिहरूको पहिचान र उपचारका लागि छुट्टै योजना समावेश गर्ने तयारी गरेको छ। दिनेशको उद्दारले हामीलाई चेतना जगाएको छ, मानसिक रोग लाज होइन, उपचार आवश्यक पर्ने अवस्था हो, उनले भने।
स्थानीय शिक्षक मनोज बुढाथोकीका अनुसार, दिनेश बुढाथोकी सानैदेखि असाधारण क्षमताका विद्यार्थी थिए। विद्यालय जीवनभर उनी सधैं कक्षामा पहिलो हुन्थे, पढाइमा गहिरो रुचि राख्थे र अनुशासित विद्यार्थीको रूपमा सबै शिक्षकका प्रिय थिए। उनले भने, “दिनेश हाम्रो विद्यालयका उत्कृष्ट विद्यार्थीमध्येका एक थिए। गणित, विज्ञान, अंग्रेजी— जुनसुकै विषयमा पनि उनको बुझाइ र उत्तर दिने शैली फरक थियो। हामीलाई गर्व लाग्थ्यो कि हाम्रो गाउँमा यति प्रतिभाशाली बालक जन्मिएको छ।”
छिमेकी कुलबहादुर बुढाथोकी भन्छन्, “दिनेश पहिले हाम्रा गाउँका सबैभन्दा असल केटा थिए । तर पछिल्लो १० वर्ष उनको जीवन हेर्दा मन नै दुख्थ्यो । अब बल्ल उनलाई मानवको रूपमा पुनः बाँच्ने मौका मिल्यो ।”
दिनेशको अवस्थाबारे खबर पाउनासाथ मानव सेवा आश्रम रानीवन शाखाका समर्पित अभियान्ता कृष्ण पौडेलको टोली खाँडादेवी पुग्यो । गाउँपालिका, प्रहरी र स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा उद्दार गरियो दिनेशलाई।
पालिकाका कार्यपालिका सदस्य गोपाल नेपाली भन्छन्, “मानवता अझै बाँचेको छ भन्ने अनुभूति भयो । हामीले धेरै प्रयासपछि दिनेशलाई सुरक्षित रूपमा उद्दार गरेर उपचारका लागि काठमाडौं पठाएका छौं ।”
दिनेशका आमाबुबा पनि यो यात्राका पीडित पात्र हुन् । छोरोले आफूलाई नै क्षति पु¥याउने डरले उनीहरू विवश बनेका थिए । आमा रुन्चे स्वरमा भन्छिन्, “हामीले धेरै ठाउँ धायौँ, तर छोरो ठीक भएन । झन् ऊ आक्रमक भयो । न थुनेर राख्दा आफैलाई मार्ला भन्ने डर लाग्थ्यो । हामीलाई पनि नरमाइलो लाग्थ्यो, तर के गर्ने ?”
यो वाक्यले ग्रामीण समाजमा मानसिक रोगका बिरामीप्रति कति कम बुझाइ छ भन्ने देखाउँछ । नेपालमा अझै पनि मानसिक स्वास्थ्यलाई ‘लाज’ वा ‘अन्धविश्वास’सँग जोडिन्छ । परिणामतः बिरामी थुनिन्छन्, तिरस्कृत हुन्छन्, समाजबाट टाढा पारिन्छन्, ठीक उपचारको सट्टा ।
अब दिनेश मानव सेवा आश्रमको संरक्षणमा छन् । त्यहाँ उनको उपचार, परामर्श, मनोचिकित्सकको निगरानी र पुनः समाजमा फर्किने तयारी सुरु हुनेछ । आश्रमले उनीहरूका लागि ‘स्वास्थ्योपचार, गाँसबास र सुरक्षाको जिम्मेवारी’ लिएको छ ।
मानव सेवा आश्रमका अभियान्ता पौडेल भन्छन्, “दिनेशको अनुहारमा हामीले पहिलोचोटि न्यानो हाँसो देख्यौं । त्यो हाँसो नै हाम्रो प्रेरणा हो ।” पौडेलका अनुसार मानव सेवा आश्रमले पछिल्ला वर्षहरूमा ५ हजारभन्दा बढी मानिसलाई घरमिलन गराइसकेको छ र हाल पनि करिब २ हजार जनाको उपचार गराइरहेको छ । सहयोगापेक्षी मानिसलाई यस्तो थुनेर राख्नु पीडादायी हो । यदि यस्ता समस्या भएका मानिस देख्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, हामी उनीहरूलाई नयाँ जीवन दिन तयार छौं ।
नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेको अध्ययनले देखाउँछ । तर उपचार सुविधा सीमित छन्, विशेषज्ञ चिकित्सक ग्रामीण क्षेत्रमा पुग्दैनन् । सरकारी अस्पतालहरूमा पनि मानसिक रोगको उपचार प्राथमिकतामा छैन । यस्तो अवस्थाले ग्रामीण परिवारहरूलाई अन्धकारतर्फ धकेल्ने गरेको छ ।
दिनेशको कथा यस्तै हजारौँ कथाहरूको एउटा प्रतिनिधि हो, जहाँ रोगले होइन, समाजले मानिसलाई कैद गर्छ । जहाँ स्वास्थ्य प्रणालीको कमजोरीले मानव अधिकार कुण्ठित हुन्छ ।
दिनेशको उद्दार केवल एक व्यक्तिको उद्धार होइन, यो मानवताको पुनस्र्थापना हो । यस्तो उदाहरणले समाजमा चेतना जगाउने अपेक्षा गरिएको छ । जसरी पौडेलले भने, “हामी सबैको घरमा यस्ता दिनेशहरू लुकेका हुन सक्छन् । उनीहरूलाई थुनौँ होइन, उज्यालो देखाऔँ ।”
गाउँले अहिले सहज सास फेर्न थालेको छ । किनकि लामो समयदेखि फलामको बारभित्र थुनिएको एउटा आत्मा अब स्वतन्त्र भएको छ । दिनेशको जीवन अझै चुनौतीपूर्ण हुनेछ, उपचार लामो यात्रा हो, तर यो सुरुवात हो, एउटा नयाँ जीवनको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button