शैलुङमा फिँजिँदै समृद्धिको हरियो सपना

रामेछाप । रामेछाप र दोलखाको उत्तरी भेगमा फैलिएको शैलुङको पहाडका डिलदेखि खेतका आली, घरअगाडिका आँगनदेखि सडक छेउसम्म स–साना बारीहरूमा लहलहाएका तरकारीका बोटहरूले गाउँलाई झकिझकाउ बनाइदिएको छ। अघिल्लो पुस्ताले धान, कोदो, आलुजस्ता परम्परागत बालीमा भर परेका यी पहाडी गाउँका किसान अहिले व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। मौसमसँग जुध्दै, बजारसँग जोडिँदै, उनीहरू अब आफ्नै गाउँमै समृद्धिको बीउ रोपिरहेका छन्।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा राजभिरका किसान दावासाङ्बु शेर्पा बिहानैदेखि बारीमा व्यस्त देखिन्छन्। उनको बारीमा अहिले बन्दा, काउली, गाजर, मुला, केराउजस्ता तरकारीले हरियाली फिँजाइरहेका छन्। “यो सिजनमा बाली राम्रै फलिरहेको छ,” उनी भन्छन्, “एक सिजनमै चार–पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने देखिएको छ।” उनका बारीका सबै तरकारी बजार पठाउने अवस्थामा पुगेका छन्।
शैलुङको माटो स्वभावैले उब्जाउ छ। यहाँको चिसो हावापानी, पर्याप्त आद्र्रता र सिँचाइको सहज पहुँचले गर्दा तरकारी खेतीका लागि अनुकूल वातावरण बनाएको छ। यही कारण पछिल्लो समय किसानहरूले बेसिजनका तरकारी खेतीलाई आफ्नो प्रमुख आयस्रोतको रूपमा लिएका छन्।
किसान शेर्पा भन्छन्, “हामीले पहिले धान, आलु मात्रै लगाउँथ्यौं। आम्दानी खासै हुँदैनथ्यो। अहिले तरकारी खेतीले हाम्रो जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।” स्थानीय किसानहरूले बिस्तारै प्लास्टिक टनेल प्रणाली, जैविक मल र सिँचाइ प्रविधि पनि अपनाइरहेका छन्। कतिपयले नजिककै गाउँहरूमा साना व्यावसायिक समूह बनाएर बीउ, मल र औजार सामूहिक रूपमा खरिद गर्ने व्यवस्था मिलाएका छन्।
शैलुङका किसानले उत्पादन गरेका तरकारीको प्रमुख बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार हो। बिहान सबेरै किसानका बारीमा व्यापारीहरू पुग्ने र त्यहीँबाट आलु, बन्दा, काउलीदेखि गाजरसम्म किनेर सिधै काठमाडौं लैजाने चलन अहिले पनि जस्ताको तस्तै छ। “बारीमै तरकारी बेच्न पाइन्छ,” शेर्पा भन्छन्, “व्यापारीहरू आफैं आउँछन्। यसले ढुवानी खर्च घट्छ र जोखिम पनि कम हुन्छ।”
तर, यो वर्ष असोजमा परेको लगातारको वर्षाले उनीहरूको उत्साहमा केही खलल पु¥यायो। बिपी राजमार्गका केही भाग बाढीले बगाएपछि तरकारी काठमाडौं पु¥याउने बाटो बन्द भयो। त्यसपछि उत्पादन सजिलै बिक्री हुन नसक्दा केही किसानको तरकारी बारीमै बिग्रने डर भयो।
यद्यपि, मुढे–शैलुङ सडकको अस्थायी मर्मतपछि केही किसानले त्यसै बाटो प्रयोग गरी तरकारी काठमाडौं पठाएका थिए। अहिले बिपी राजमार्ग पुनः सञ्चालनमा आएपछि किसानहरू पुनः उत्साहित बनेका छन्। “अब बाटो खुलेपछि सबैको अनुहारमा खुशी फर्किएको छ।”
रामेछापको दोरम्बा गाउँपालिका–१, २ र ४ लगायत दोलखाको शैलुङ गाउँपालिका पछिल्ला केही वर्षयता व्यवसायिक तरकारी उत्पादनका केन्द्र बन्दै गएका छन्। यहाँको जलवायु र माटोको गुणस्तरका कारण किसानले वर्षमा दुईदेखि तीन पटकसम्म उत्पादन लिन सक्ने क्षमता राख्छन्। स्थानीय तहले समेत कृषि सहुलियत कार्यक्रम, सिँचाइ सहयोग र बजार समन्वयमार्फत किसानलाई प्रोत्साहन दिइरहेको छ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान भन्छन्, शैलुङ क्षेत्रमा करिब ८० प्रतिशत घरधुरी कुनै न कुनै रूपमा तरकारी खेतीसँग जोडिएका छन्।
शैलुङ र दोरम्बाका किसानहरूको कथा अहिले कृषि पुनर्जागरणको प्रतीक बनेको छ। पहाडको कठोर भौगोलिक संरचनामा पनि उनीहरूले श्रम, सीप र लगनको बलमा हरियाली फिँजाएका छन्। चिसो हावामा ताजा काउलीको गन्ध फैलिएको यो गाउँ अब गाउँ मात्र होइन, एउटा सानो कृषि प्रयोगशाला बनेको छ, जहाँ प्रत्येक बालीले एउटा सम्भावनाको कथा सुनाउँछ।
अब यी गाउँहरूका किसानहरूलाई दीर्घकालीन बजार पहुँच, सहज यातायात र उत्पादन संरक्षणका उपायको आवश्यकता छ । यदि यी तीन कुरा सुनिश्चित गर्न सकियो भने, रामेछाप र दोलखाका यी हिमाली छेउका गाउँहरू केवल हरिया बारीका कारण होइन, आत्मनिर्भर कृषि अर्थतन्त्रका कारण पनि पहिचान बनाउनेछन्। शैलुङका किसानहरूको हातमा अहिले हरियाली छ, आँखामा सम्भावनाको उज्यालो। उनीहरूका बारीहरूमा फिँजिएको हरियो रंग अब गाउँका प्रत्येक परिवारको भविष्यसँग गाँसिएको छ, एक हरियो क्रान्तिको रूपमै।



