पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो

ललितपुर — आईडब्लुएफएन कराते डो संघ शाखा डोजो ठैब, ललितपुरको आयोजनामा सम्पन्न पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो भएको छ । दुई दिने प्रतियोगितामा लुभु डोजोले ७ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै शीर्ष स्थान हासिल गर्यो ।
ठैबस्थित आईडब्लुएफएन डोजोले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझायो भने कलैया डोजो ४ स्वर्ण र १ कास्य पदकसहित तेस्रो भयो ।
प्रतियोगितामा सिन्धुपाल्चोक टोलीले ‘बेस्ट प्ले अवार्ड’ प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ पुरुषतर्फ ठैब डोजोका सन्देश नेपाल तथा महिलातर्फ कलैया डोजोकी दिव्या तिवारी उत्कृष्ट खेलाडी घोषित भए । विद्यालयस्तरीय प्रतियोगितामा भ्याली पब्लिक स्कुल पहिलो र फ्युचर स्टार दोस्रो बने ।
विजयी टोली तथा खेलाडीहरूलाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले पुरस्कार वितरण गरिन् । समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रदेशभरका १८ टोलीका ४ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताका संयोजक तथा आईडब्लुएफएन कराते डो संघका प्रमुख प्रशिक्षक बुद्धराज नेगी गुरुले प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न भएको जानकारी दिए ।



