मैत्रीपूर्ण फुटबलमा सुनापति च्याम्पियन: रोमाञ्चक फाइनलमा दोरम्बा शैलुङलाई पराजित गर्दै उपाधि हात पार्‍यो

रामेछाप। स्थानीय तहहरूबीच आपसी मित्रता, सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजित एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। रामेछापका तीन स्थानीय तहहरू—खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाकाबीच खेलकुदका माध्यमबाट सम्बन्ध प्रगाढ बनाउन यो प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू निकै प्रतिस्पर्धात्मक बनेका थिए। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दोरम्बा शैलुङ गाउँपालिकाले सुनापति गाउँपालिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने खाँडादेवी गाउँपालिकालाई २–० गोलले पराजित गरेको थियो। यता, सुनापति र खाँडादेवीबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो। लिग चरणमा कुल ४ अङ्क जोड्दै दोरम्बा शैलुङ पहिलो स्थानसहित फाइनलमा प्रवेश गर्न सफल भएको थियो।

त्यसपछि भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा दोरम्बा शैलुङ गाउँपालिकालाई १–० गोल अन्तरले हराउँदै सुनापति गाउँपालिका प्रतियोगिताको विजेता बन्यो। यस जितसँगै सुनापतिले उपाधि चुम्दा दोरम्बा शैलुङ उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

यस मैत्रीपूर्ण प्रतियोगिताले स्थानीय तहबीच आपसी भाइचारा र सद्भाव सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button