नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतिमा दीपक खड्काको दाबी

मन्थली—नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले पार्टीको आगामी १५ औँ जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १४ औँ महाधिवेशनअन्तर्गत खुल्लातर्फ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चुनिएपछि उनले युवा टिमको नेतृत्व गर्दै सभापतिमा लड्ने घोषणा गरेका हुन्।

शनिबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले अग्रज नेताहरूसँग सहमतिको प्रयास गरिने र सहमति जुट्न नसके उम्मेदवारी दर्ताबाट पछि नहट्ने स्पष्ट पारे। “आगामी नेतृत्वका लागि समूहभित्र आवश्यक छलफल भइसकेको छ, अब पछि हट्ने ठाउँ छैन,” उनले भने।

३७ जना प्रतिस्पर्धीबीच ७ सय ४१ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका नामाडीका खड्का जिपी कोइराला फाउन्डेसन रामेछापका अध्यक्षसमेत हुन्। १३ औँ महाधिवेशनमा कोषाध्यक्ष पदमा पराजित भएका उनी १४ औँ अधिवेशनमा सचिव पदमा विजयी भएका थिए।

आफ्नो विगतको अनुभव जोड्दै उनले आन्तरिक चुनावमा पराजित भएका कार्यकर्ताहरूलाई निराश नभई पार्टी काममा निरन्तर लाग्न आग्रह गरे। राजनीतिमा धैर्य र निरन्तरताले नै न्याय दिलाउने बताउँदै उनले पराजित साथीहरूको राजनीतिक यात्रा थप सक्रिय हुनुपर्नेमा जोड दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button