रामेछापबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकगायक प्रकाश कटुवालको उम्मेदवारी

मन्थली — ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’ र ‘चोर बिरालो पल्क्यो’ जस्ता चर्चित लोक तथा दोहोरी गीतका गायक प्रकाश कटुवाल साङ्गीतिक मञ्चसँगै सक्रिय राजनीतिमा होसिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कटुवालले रामेछापबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारी गरेका हुन्।
रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका भोलि १३ गते हुने जिल्ला अधिवेशनमा खुलातर्फबाट महाधिवेशन प्रतिनिधि पदमा प्रतिस्पर्धा गर्ने भएका हुन्। अधिवेशनलाई लक्षित गर्दै गायक कटुवाल यतिबेला गृहजिल्ला रामेछापमा कार्यकर्ता तथा समर्थकसँगको भेटघाट र घरदैलो अभियानमा व्यस्त छन्।
कांग्रेस सभापति गगन थापाको नेतृत्व, विचार र कार्यशैलीबाट प्रभावित भएर आफू सक्रिय राजनीतिमा होमिएको कटुवालले बताए। पार्टीको विशेष महाधिवेशनबाट थापाको नेतृत्व स्थापित भएपछि आफूलाई साङ्गीतिक क्षेत्रबाहेक राजनीतिमा पनि जोडिने थप प्रेरणा र ऊर्जा मिलेको उनको भनाइ छ।
«गगन थापाजस्तो युवा नेतृत्वको सोच र पार्टीलाई एकताबद्ध बनाएर लैजाने कार्यशैलीले मलाई राजनीतिमा लाग्न ऊर्जा दियो,» कटुवालले भने, «कलाकारिताबाट बनाएको सामाजिक पहिचानलाई अब राजनीतिक यात्रामार्फत जनसेवामा रूपान्तरण गर्ने मेरो लक्ष्य छ।»
जिल्ला निर्वाचन समितिका अनुसार १५ औँ महाधिवेशनअन्तर्गत रामेछापको जिल्ला अधिवेशन असोज १३ गते सदरमुकाम मन्थलीमा हुँदै छ।



