रामेछापमा लगातार वर्षा: राति र बिहान सडक यात्रामा रोक, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
मन्थली — लगातार भइरहेको भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले मुख्य तथा भित्री सडक मार्गहरूमा रात्रिकालिन यात्रामा रोक लगाएको छ।
मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ देखि ११ गतेसम्म देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। हाल रामेछाप जिल्लाभर पनि मध्यमदेखि भारी वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
वर्षाका कारण मुख्य तथा भित्री सडकहरू अवरुद्ध हुनसक्ने जोखिम बढेकाले असोज ९ गते साँझ ५:३० बजेदेखि असोज १० गते बिहान ५:०० बजेसम्म यात्रा नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ। असोज ९ गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित क्षति न्यूनीकरणका लागि यस्तो कदम चालिएको निमित्त प्रमुख जिल्ला अधिकारी राम बहादुर के.सी.ले जानकारी दिनुभयो। प्रशासनले दिउँसोको समयमा पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
निरन्तरको वर्षाका कारण रामेछाप भएर बहने प्रमुख नदीहरू तामाकोशी, सुनकोशी तथा अन्य स्थानीय खोलाहरूमा पानीको बहाव तीव्र रूपमा बढिरहेको छ। नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम महसुस हुनासाथ नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। साथै, स्थानीय तहहरूलाई जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी पूर्वतयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ। स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमहरूलाई मौसमसम्बन्धी अध्यावधिक सूचना लिँदै पूर्वतयारी र समन्वयमा जुट्न प्रशासनले अपिल गरेको छ।
कुनै पनि आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका विभिन्न सम्पर्क नम्बरहरू तथा प्रहरी कन्ट्रोलको १०० नम्बर खुल्ला राखिएको प्रशासनले जनाएको छ।



