जमराको सुसेली र पिङको उडान

पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ ।
हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।
रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक, आवाजका माध्यमबाट दशौँ लाख नेपालीलाई देशभरका कथा–किस्सा सुनाएका, गीत–सङ्गीत प्रसारण गराएका लामा जब आफ्नै बाल्यकालतिर फर्किन्छन्, उनको स्वरमा अझै त्यो निहुरिएको बालापनको सरलता सुनिन्छ ।
उनको जन्म र बाल्य जीवन पहाडी गाउँको सामान्य परिवेशमा बितेको थियो । विशाल तेमाल पहाडको फेदमुनि चीसो हावा, घामपानीसँगै खेलेर हुर्केको बालकलाई दशैँ भनेको केवल पूजापाठ वा धार्मिक विधि मात्र थिएन, त्यो जीवनमा आशा, रमाइलो र आत्मीयताको मेल हो ।
“आमा बिहानै धूप बाल्नुहुन्थ्यो, चुल्होबाट उठेको धुवाँसँगै घरमा एउटा बेग्लै सुगन्ध चोटाकोठा फैलिन्थ्यो,” उनी भन्छन्, “त्यो धुपबत्तीको महकलेनै दशैँ सुरु भएको आभाष दिन्थ्यो । घामको छुट्टै्र रङ हुन्थ्यो, हावाको बेग र स्पर्ष बडो मलिन हुन्थ्यो । केरा र अम्बाहरु बोटमै मगगगाउँदै पाक्थे । तामाङ गाउँमा सबै केटाकेटी म्हेनिङ हाजी भन्दै रमाउँथे ।”
लामा जातिको परम्परामा म्हेनिङको परम्परा र अर्थ फरक थियो । उनीहरु यसबेला प्रकृतिलाई शक्तिको श्रोत मानेर पूजा गर्छन् । खेत, खोला, पानी, जमीन, जंगलको पूजा हुन्थ्यो । तर खस, आर्यसँग मिश्रित समुदायसँग मिलेर जीवन जिउने अमरध्वज जन्मे हुर्केको तामाङ समुदायले दशैं मनाउने तौर तरिकामा भने हिन्दू परिवारसँग शतप्रतिशत मेल खान्थ्यो । दशैँ सबै जातजातीका लागि समान भावनाको पर्वजस्तै हुन्थ्यो । अमरध्वज लामा सम्झिन्छन््—“हामी बच्चा हुँदा दशैँ भनेको मुख्यतः नयाँ कपडा र मीठा खानेकुरा थियो । देवीपूजा वा मन्त्रभन्दा बढी चासो त हामीलाई त्यो बारीको घैयाको ओखलमा कुटेको चिउरा र मासुको गन्धले खिच्थ्यो ।”
“आफू भन्दा अगाडि बस्ने साथीले बढी समय पिङ खेल्यो भने रिस उठ्थ्यो, तर फेरि अर्कोपल्ट पालो आउँदा सब कुरा बिर्सिन्थ्यौँ ।” उनी बालक जस्तै उत्साहित हुँदै सम्झिन्छन् ।
टिका थाप्ने दिन बिहानैदेखि घरभरि चहलपहल हुन्थ्यो । कोही दाउरा चिर्थे, कोही भान्सामा आगो सल्काइरहेका हुन्थे, कोही टिका राख्ने थाल सजाइरहेका हुन्थे । “त्यो दिनको खाना—भात, मासु, अचार,… आहा ! आज पनि सम्झिँदा जिब्रो रसाउँछ । पेटभन्दा आँखाले बढी खान्थ्यौँ ।” उनले हाँसो छोड्दै भने ।
दशैँको स्वाद केवल खानामा सीमित थिएन, त्यो आत्मीयतामा मिसिएको थियो । टाढाटाढा बस्ने आफन्तहरू दशैँमा गाउँ फर्किन्थे । एकै थालमा बसेर खाने संस्कार थियो, जसले सबैलाई परिवारको नजिक ल्याउँथ्यो ।
गाउँको फेदमा विशाल फैलिएको पिपलको रुख थियो । त्यही पिपलको एउटा बलियो हाँगा छानेर लामो पिङ हालिन्थ्यो । पिङ बाट घरघर पुगेर बाबियो बटुल्ने चलन थियो । फूलपातीको दिन पितृपूजा, गाउँको सिमेभूमे र देवीथानमा अर्चना सकेर गाउँका युवाहरु पिङमा पयो थपी थपी लठ्ठा बाट्थे । बच्चाहरू बिहानदेखि बेलुकासम्म पालो पर्खिन्थे । “पिङ खेल्दा आकाशै चुम्छु जस्तो लाग्थ्यो,” अमरध्वज सम्झन्छन्, “हामीलाई त्यो डोरी नै स्वतन्त्रताको डोरी लाग्थ्यो । आकाशतिर उड्ने सपना त्यहीँबाट सुरु भएको होला ।”
पिङमा हाँसो, चिच्याहट र गीत मिसिन्थ्यो । एक कुनाको अँध्यारोमा माटोको सगुन पोङबाट कोदोको रक्सी वितरण हुन्थ्यो । डम्फू र मादलमा नाचगान रातैभरी चल्थ्यो । पालो पर्खिँदा पनि रमाइलो हुन्थ्यो—कोही उफ्रिन्थे, कोही गीत गाइदिन्थे । “आफू भन्दा अगाडि बस्ने साथीले बढी समय पिङ खेल्यो भने रिस उठ्थ्यो, तर फेरि अर्कोपल्ट पालो आउँदा सब कुरा बिर्सिन्थ्यौँ ।” उनी बालक जस्तै उत्साहित हुँदै सम्झिन्छन् ।
दशैँ भनेको भेटघाटको अवसर पनि थियो । दाजुभाइ, दिदीबहिनी, काका–मामा, आफन्त—सबै गाउँमा फर्किन्थे । “पिँढीमा भेला भई हाँसोठट्टा गथ्र्यौँ । ज्येष्ठहरूले टिका लगाउँदा भविष्यको लागि आशीर्वाद दिन्थे । त्यो आशीर्वाद हामीलाई ठूलो प्रेरणा हुन्थ्यो,” उनले सुनाए ।
मितबा, मित आमाको साइनो, मामा माइजूको साइनो लगाउँदै क्षेत्री बाहुनहरु तामाङ गाउँमा खसीका पक्कु कोसेले बोकेर टिका थाप्न आउँथे । दलितहरु सँगुरको परिकार सगुन बनाएर टिका थाप्न आवत जावत गर्थे । दशैंको बेला मगर, तामाङ, क्षेत्री बाहुन र दलितहरुबीच मज्जाको सद्भाव देखिन्थ्यो ।
उनले भनेझैँ दशैँले हामीलाई सम्झाउँछ—पर्व भनेको आत्मीयताको धागो हो । त्यो सादगी र सन्तुलनको पाठ हो । त्यो पुस्ता–पुस्ताबीचको अदृश्य सम्झौता हो, जसले हामीलाई साझा पहिचानमा बाँधेको छ ।
बालापनको आशीर्वादले उनीहरूलाई जीवनका कठिन मोडमा अघि बढ्ने आत्मबल दिएको अनुभूति हुन्छ । अमर भन्छन्—“त्यो बेला हामीलाई पढाइलेखाइ र भविष्य कस्तो हुन्छ भन्ने थाहा थिएन, तर बडाबडैले दिएको आशीर्वादले आत्मविश्वास पलाउँथ्यो ।”
अमरध्वज लामा स्पष्टसँग भन्छन्—“त्यो समयको दशैँ र म्हेनिङ अहिलेको भन्दा भिन्न थियो ।”
मोबाइल थिएन, इन्टरनेट थिएन, बजार पसलमा उपभोगको सामान थुप्रिएका थिएनन् । तर सन्तोष थियो । “साधारण थियो तर आत्मीयता भरिएको । अहिले दशैँ उपभोगको पर्व जस्तो लाग्छ । तर त्यतिबेला एउटा नयाँ कमिज पाउनु नै ठूलो सौभाग्य हुन्थ्यो ।”
त्यो सरलताले दशैँलाई अझै विशेष बनाउँथ्यो । घरघरमा आफ्नै हातले सिलाइ–बुनाइ गरेको कपडा, आफ्नै खेतको धान र गहुँ—सबैको स्वादमा माटोको गन्ध मिसिएको हुन्थ्यो ।
उनका स्मृतिमा गीतसङ्गीत पनि गहिरो छ । गाउँमा डम्फू मादल, बाँसुरीको तालसँगै गीत गुञ्जिन्थ्यो । बच्चाहरू रमाउँदै नाच्थे । “गीतको शब्द बुझिँदैनथ्यो होला, तर स्वरमै रमाउँथ्यौँ । त्यो धुनले नै हामीलाई दशैँको जादूमा बाँध्थ्यो,” उनी भावुक हुँदै भन्छन् ।
तर गुम्बा (गोन्बो) मा छ्योपा, मोलम र पूजा गर्ने काम चाँहि आपा र म्हेमे (बाजे) हरुले विहानै सम्पन्न गराइ सकेका हुन्थे ।
आज ती चलनहरू हराइसकेका छन् । गाउँमा पिङ हाल्ने परम्परा हराउँदै गएको छ, दशैँमा घर फर्किने भीड घटेको छ । तर पनि अमरध्वज लामा भन्छन्—“दशैँ र म्हेनिङ हाम्रो मौलिक धरोहर हुन् । त्यो परम्पराले पुस्तान्तरमा निरन्तरता पाउनुपर्छ । चाडपर्व केवल पूजापाठ होइन, सामूहिक आत्मीयताको भाषा हो ।”
उनले आफ्ना नातिनातिनीलाई पिङ हाल्न पाउँदा खुशी लाग्ने बताउँछन् । तर भन्छन्—“हामीले जस्तै अनुभव उनीहरूले पाउँछन् भन्ने ग्यारेन्टी छैन । समाज बदलिएको छ, तर आत्मीयता भने पुस्ता–पुस्तामा जोगाइराख्नै पर्छ ।”
अमरध्वज लामाको संस्मरण केवल उनको व्यक्तिगत कथा होइन, त्यो हाम्रो सामूहिक स्मृति हो । गाउँका आँगनमा पिङ खेलेको रमाइलो, भान्साबाट आएको मासुको सुगन्ध, आशीर्वादमा गढिएको भविष्य—यी सबै हाम्रो साझा सांस्कृतिक सम्पत्ति हुन् ।
उनले भनेझैँ दशैँले हामीलाई सम्झाउँछ—पर्व भनेको आत्मीयताको धागो हो । त्यो सादगी र सन्तुलनको पाठ हो । त्यो पुस्ता–पुस्ताबीचको अदृश्य सम्झौता हो, जसले हामीलाई साझा पहिचानमा बाँधेको छ ।
अन्ततः, अमरध्वज लामा मुस्कुराउँदै भन्छन्—“दशैँ आउँदा अझै पनि मलाई त्यही बालापनको उमङ्ग जाग्छ । पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ ।”



