संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिवालयको सुविधा हेरफेर, राजपत्रमा सूचना प्रकाशित

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूका स्वकीय सचिवालयसम्बन्धी व्यवस्था र सुविधामा हेरफेर गरेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को अनुसूची-२ परिमार्जन गरेको हो।
राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाअनुसार संसद्का पदाधिकारी तथा सांसदहरूले पाउने स्वकीय सचिवालयका कर्मचारीको श्रेणी र सङ्ख्या निर्धारण गरिएको छ। जसअनुसार सभामुख र राष्ट्रिय सभाका अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव सरह) को प्रमुख स्वकीय सचिव एक जना, द्वितीय श्रेणीको स्वकीय सचिव एक जना र तृतीय श्रेणीको स्वकीय सचिव एक जना राख्न पाउनेछन्।
त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाका विपक्षी दलका नेता, उपसभामुख, उपाध्यक्ष, सत्ता पक्षका नेता तथा मुख्य सचेतक, प्रमुख सचेतक, सचेतक र विभिन्न समिति सभापतिहरूका लागि द्वितीय श्रेणी (उपसचिव सरह) को स्वकीय सचिव एक/एक जना रहने व्यवस्था गरिएको छ। सर्वसाधारण सांसद (सदस्य) हरूका लागि भने तृतीय श्रेणी (शाखा अधिकृत सरह) को स्वकीय सचिव एक जना रहने प्रावधान राखिएको छ।
राजपत्रको द्रष्टव्यमा उल्लेख भएअनुसार स्वकीय सचिवालयका कर्मचारीहरूले सम्बन्धित पदको सुरु स्केल अनुसारको तलब प्राप्त गर्नेछन्। सभामुख र अध्यक्षका प्रमुख स्वकीय सचिवले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी सरह सवारी साधन र इन्धन सुविधासमेत पाउनेछन्। पारदर्शिता कायम गर्नका लागि स्वकीय सचिवालयका सबै कर्मचारीहरूले पाउने पारिश्रमिक र सुविधा सिधै निजको बैङ्क खातामा उपलब्ध गराइने व्यवस्था गरिएको छ। ऐनको दफा २५ ले दिएको अधिकार प्रयोग गरी गरिएको यो हेरफेर मुद्रण विभागबाट प्रमाणित भएसँगै लागू हुनेछ।





