बाढीपीडितका लागि रामेछाप नगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा ४० लाख सहयोग

रामेछाप । भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै रामेछाप नगरपालिकाले राहत स्वरूप चालिस लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गर्न लागिएको हो।
उक्त सहयोग रकम नगरका जनप्रतिनिधिहरूको १० दिन बराबरको पारिश्रमिक, नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको तर्फबाट प्राप्त रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट संकलन गरी कुल रु. ४०,००,००० (चालिस लाख) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्ति मार्फत नगरपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार र पुनर्स्थापनाका लागि अपिल गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विपत्तिको यस कठिन घडीमा राज्यका सम्पूर्ण संयन्त्र, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई उच्च समन्वयका साथ उद्धार, राहत र सहयोगको कार्यमा जुट्न समेत रामेछाप नगरपालिकाले हार्दिक अनुरोध गरेको छ।




