मन्थली नगर द्धरा आगलागी पीडितलाई जस्तापाता

रामेछाप । मन्थली नगरपालिकाले सोमबार रामेछाप नगरपालिका वडा नं. ९ टार गाउँका पीडितहरूलाई जस्ता पाता दिएको छ । मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायतको टोलीले पीडितहरूलाई जस्तापाता दिएको हो ।
नगरपालिकाले प्रति परिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको मन्थली नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । छिमेकी नगरपालिका भएको नाताले एकलाई पर्दा अर्को छिमेकीले सहयोग गर्नु मानवीय धर्म भएको र भाइचाराको नाताले मन्थली नगरपालिकाले सामान्य भएपनि सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताए ।
गत बिहीबार नजिकैको हर्दिनि सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर सँगै १४ वटा गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका थिए ।
पछिल्लो समयमा खाद्यान्न, कपडा र अन्य सामाग्रीहरू जुटेको भए पनि पीडितहरूका लागि स्थायी आवास निर्माण गर्नु भने उनीहरू र वडाका लागि समेत मुख्य चुनौतीको विषय बनेको रामेछाप नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए ।
मन्थली नगरपालिकाले आगलागी भएको भोलीपल्ट नै रामेछाप नगरपालिका-९ टारका १३ घर पीडितहरू घटना स्थलमानै पुगेर चामल लगायत विभिन्न खाद्य सामाग्री सहयोग गरेको थियो ।
