मन्थलीमा आयुर्वेदिक अस्पताल बन्ने

रामेछाप ।जिल्लामा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्ने भएको छ । गत फागुन ३० को बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामेछापमा आयुर्वेदिक अस्पताल बन्ने भएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापबाट फिजियोथेरापी र अकुपञ्चर लगायतका सेवाहरू थप हुने समेत कार्यालयका वरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्कीले बताए । उनले भने – प्रदेश सरकारले अस्पतालका लागी दरबन्दी समेत स्वीकृत गरिसकेको छ । प्रदेश सरकारले लोकसेवा आयोगबाट कर्मचारीका आवश्यकताको सूचना समेत प्रकाशन गरिसकेको छ ।
सेवा केन्द्रको रूपमा सञ्चालित जिल्ला आयुर्वेदको कार्यालय (हालको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’) अब अस्पतालको रूपमा स्तर उन्नति हुने चरणमा रहेकाले सेवा सुविधाहरू थप हुँदै जाने कार्कीले बताए ।
अस्पताल निर्माणका लागी जग्गा भने यकिन भई नसकेको कार्कीले बताए । कार्कीले भने – आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसँगैको जग्गा सडकका कारणले अपुग भएको छ । मन्थली नगरपालिकासँग छलफल गरेर सडकलाई अलि घुमाउन सके हालको संरचना पनि काममा आउने थियो, भवन बनाउन पनि जग्गा पुग्ने थियो ।
जिल्लामा, त्यो पनि मन्थली नगरपालिकामा आयुर्वेदिक अस्पताल बन्नु खुसीको कुरा भएको नगरप्रमुख लब श्रेष्ठ बताउँछन् । उनले भने– हामीले देखाएको जग्गा अपुग हुने भएपछि त्यो बारेमा कुनै छलफल भएको छैन । हामी आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रतिनिधिसँग बसेर यो बारेमा छलफल गर्नेछौँ । आयुर्वेदिक अस्पताल बन्नु पर्छ र बनाउनु पर्छ भन्ने कुरामा नगरपालिका सकारात्मक छ ।