मुद्दाका कारण बनेन गाउँपालिकाको भवन

रामेछाप । स्थानीयले मुद्दा हालेका कारण लिखुतामाकोशी गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको छ । पालिकाले भवन निर्माणका लागी लिएको जग्गा अपायक भएको र पालिकाले कार्यालय सार्न लागेको भनेर सर्वोच्चमा मुद्दा परे पछि गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको हो ।
स्थानीय हरिबहादुर खड्का, वीरबहादुर तामाङ (ब्लोन) र अम्मरबहादुर खड्का (पुर्ब जनप्रतिनिधि ) ले अपायक ठाउँमा पालिकाको भवन बनाउन लागेको भनेर मुद्दा हालेपछि गाउँपालिकाको प्रशासकीय भवन बनाउन टेन्डर निकाल्न नसकिएको गाउँपालिकाको वडा नं. ५ मा भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । उनले भने – हामीले अघिल्लो कार्यकालको कार्यपालिकाले गरेको निर्णयलाई अध्ययन गरेर जग्गा प्राप्तिका लागी सूचना प्रकाशन गरेका थियौँ । सोही अनुसारको जग्गा पनि पाइयो । हामीले कार्यपालिकाले निर्णय गरेर जग्गा लियौँ । तर साथीहरूले मुद्दा हाल्नु भयो । राज्यका ठुलठुला ओहोदामा बस्नु भएकाहरूलाई नछाड्ने कानुनले मलाई छाड्ला र ? त्यही भएर अदालतको फैसला कुरेर बसेका छौँ भवनको टेन्डर निकाल्नलाई ।
अध्यक्ष महत भने गाउँपालिकाको प्रशासकीय भवन बनाउने भन्दा नि लिखुतामाकोशीको सदरमुकाम बनाउने योजनाका साथ भवनका लागी उपयोगी जग्गा पाइएको बताउँछन् । उनी भन्छन् – धोबी डाँडामा २ जनाले सुरु गरेको बसोबास र व्यापार आज बजारमा परिणत भएको छ । बजार देखि हामीले बनाउने भनेको गाउँपालिकाको प्रशासकीय भवन सम्म बस्ती एकीकृत गरी पुरै बजार बनाउने दीर्घकालीन योजनामाथि साथीहरूले मुद्दामामला गर्नुभयो ।स्थानीय सरकार आएको ७ वर्ष बिती सक्दा पनि गाउँपालिकाको प्रशासकीय भवन नबनेको प्रति एक थरी नागरिक भने चिन्तित छन् । संस्थागत विकासको पहिलो खुट्किलो रहेको गाउँपालिकाको प्रशासकीय भवन नबन्दा पालिका शरणार्थी पारामा बसेको स्थानीय मकरध्वज खड्काको भनाई छ ।अहिले गाउँपालिकाले भाडामा घर लिएको कामकाज चलाउन परेकोले दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल बताउँछन् । भुजेल भन्छन्– गाउँपालिकाको प्रशासकीय भवन बन्नु भनेको लिखुतामाकोशीका नागरिकको लागी भवन बन्नु हो । नागरिककै लागी बनाउन लागेको भवनमाथि मुद्दामामला गर्नु भन्दा सहयोग गर्दिनुस् ।जनतासँग जनप्रतिनिधि कार्यक्रममा पाइपको आवश्यकता, फलफूलमा लागेको किरा नियन्त्रण र खानेपानीको उचित व्यवस्थापनको बारेमा धनबहादुर तामाङ, लिलामाया तामाङ, विष्णुमाया तामाङ, मञ्जु नेपाली, जयसिंह तामाङ, आसबहादुर तामाङ, वीरमान तामाङ लगायतले अनुरोध गरे ।कार्यक्रम सञ्चालन हुँदाहुँदै कृषि तथा पशुपंक्षि विकास शाखा प्रमुख लोकप्रसाद फुयाँलले क–कसको फलफूलमा किरा लागेको हो, उनीहरूको नाम र नम्बर कर्मचारीलाई टिप्न लगाए । उनले शनिवार भए पनि समस्या पहिचानका लागी कर्मचारी पठाउने र अरुकुनै समस्या भए आफ्नो मोबाइल नम्बरमा सिधै फोन गर्न अनुरोध गरे । उनले किसानलाई तालिमको आवश्यकता भए वडा मार्फत माग गरे तुरुन्तै तालिम दिन सकिने पनि बताए ।
पालिका अध्यक्ष महतले आगामी बजेटमा धेरै पाइप चाहिनेहरूको माग संबोधन हुने बताए । उनले खानेपानीको व्यवस्थाको लागी मुहान खोजी गर्न सहयोग गर्न अनुरोध गरे। वडावासीको आवश्यकताहरू आफूले टिपोट गरेकोले आगामी नीति तथा कार्यक्रममा टिपोटको मागहरू संबोधन हुने बताए ।कार्यकमको समापन गर्दै वडा नं. ५ का अध्यक्ष रोमबहादुर तामाङले केही साथीहरूको काम नै मुद्दा हालने भएको बताए । उनले मुद्दा हालेर समस्याको समाधान नहुने भएकोले चित्त नबुझेको कुरा सिधासिधा भन्न आग्रह गरे। आफूलाई प्रलोभनमा परेको आरोप लगाएको सुनेकोले ती कुराको पछि नलाग्न उनले अनुरोध गरे। उनले भने – म प्रलोभनमा पर्दिन, प्रलोभन देखाउने सँग आफ्नो कार्यकाल भरि संगत गर्दिन ।



