लिखु तामाकोशी गाउँपालिका द्धरा बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पालिकाले पालिका भित्रका वृद्धबृद्धा र गर्भवती महिलालाई पर्ने समस्यालाई ध्यानमा राखी यो निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको महतले बताए । पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा अध्यक्ष महतले सो कुरा बताएका हुन् ।
गाउँमा बृद्धबृद्धा र गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था उच्च जोखिममा रहने भएकोले पालिकाले उनीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी साहले बताए। उनले भने– अहिले धेरै जसो बृद्धबृद्धाहरु गाउँमा बस्ने भएकोले र गर्भवती आमा र बच्चाले उपचारका कारणले अकालमा ज्यान गुमाउन नपरोस् भनेर एम्बुलेन्स सेवा निःशुल्क गरिएको हो ।
गाउँपालिकाले १५ शैयाको अस्पताल बनाइरहेको छ। त्यो अस्पताल बनेपछि यहाँका नागरिकले महँगो उपचारका लागि सहरका अस्पताल जान पर्दैन। कोरोनाभाइरसको महामारीको बखतमा पालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्दा सम्बन्धित लाभग्राहीले भन्दा बाहेककाले एम्बुलेन्स प्रयोग गरेको पाइएकोले बृद्धबृद्धा र गर्भवती महिलाहरूका लागि मात्र लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको अध्यक्ष महतले बताए । पालिका अध्यक्ष महतले थपे – हामीले अरू नागरिकका लागि पनि सस्तो र सुलभ मूल्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छौँ ।
पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा नागरिकले खासै गुनासो पोखेनन् । गुनासो पोख्न उठेका त्रिविक्रम महतले समेत गुनासो भन्दा बढी पालिकालाई आगामी आर्थिक वर्ष २०८१÷ ८२ का लागी तयार गरिने नीति तथा कार्यक्रमका लागी सुझाव दिए ।
पालिकाले पिउने पानीको समस्यालाई सुझाउन वडा तथा पालिका स्तरबाट काम भई रहेको वडा अध्यक्ष दीपक पुलामी मगरले बताए । उनले भने – यहाँका नागरिकको मुख्य समस्या भनेको पिउने पानी हो, यसको लागी हामीले काम गरी रहेका छौँ । आगामी आर्थिक वर्ष देखि यहाँ पिउने पानीको समेत समस्या रहनेछैन ।