मन्थली अस्पतालमा थाईराईड परीक्षण

रामेछाप । जिल्लामा रहेको मन्थली अस्पतालले थाईराईड सेवा विस्तार गरेको छ । अस्पतालले शनिवारबाट थाईराईड परीक्षण सेवा सुरु गरेको हो । अस्पतालले अन्तर्राष्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।
दिवसको अवसरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर थाईराईड सेवा सेवा सुरु गरेका हुन् । प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगरपालिका जुनसुकै सहयोग गर्न तयार भएको बताए । अस्पतालले नगर भित्रको नागरिकले मात्र नभएर जिल्ला भरका नागरिक स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउने श्रेष्ठले बताए ।
यसअघि बिरामीको थाइराइड परीक्षणका लागि तामाकोसी अस्पतालसँग समन्वय गरेर काठमाडौँ पठाउनु पर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समीर क्षेत्रीले बताए । मन्थली अस्पतालबाट बिरामीको थाइराइड परीक्षण सेवा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको उनले बताए । साथै डाक्टर क्षेत्रीले थाइराईड परीक्षण मेसिनबाट भिटामिन ’डी’ र भिटामिन ’बी’ १२ को पनि परीक्षण गर्न सकिने जानकारी दिए ।
थाइराईड परीक्षण गर्दा सेवाग्राहीले स्वास्थ्य बिमा हुनेहरूका लागि ९ सय लाग्ने र बिमा नभएकाहरूका लागि पनि अस्पतालको व्यवस्थापन समितिको बैठकको निर्णयले तय गर्ने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताए ।