कक्षा-१२ को नतिजा सार्बजनिक, सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ । यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ । यस्तै एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ । मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button