भालुखोपमा ५ घर विस्थापित, ५ सय रोपनी खेत बगरमा परिणत,

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ भालुखोपमा पहिरोले ५ घर विस्थापित भएका छन् । मेख बहादुर बुढाथोकीको आँगन नजिकबाट खसेको पहिरोका कारण ५ घर विस्थापित भएका हुन् । मेख बहादुर बुढाथोकी, गङ्गामाया बुढाथोकी, बाबुराम बुढाथोकी, धुम्मामाया बुढाथोकी र मान बहादुर बुढाथोकीको पूर्ण रूपमा जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
पाहिरोका कारण विस्थापित ५ घरका १२ जना परिवारलाई सोही स्थानमा रहेको श्री मालिका आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको र विस्थापितको लागि २० थान त्रिपाल र खाद्यान्नको ब्यवस्था गाउँपालिकाले सहयोग गरेको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बताए ।
सोही स्थानमा बस्ने मान बहादुर बुढाथोकीको घर नजिक रहेको गोठ पहिरोले पुरिदा एउटा भैँसी मरेको छ । त्यस्तै मन्थली नगरपालिका–६ सेलेघाट, रामेछाप बजार हुँदै साँघुटारको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनको लापरबाहीले करोडौँको धान खेतमा क्षती पु¥याएको छ ।
रामेछाप नगरपालिका वडा नं २ र ३ को सिमाना भएर बग्ने खोलालाई नै थुनेर आयोजनाले माटो थुपारिदिँदा खोलाले माटो सहितको लेदो बगाउँदा धान खेत नै बगाएको हो । कलचुँडे खोला,देवीथान खोला,जयमुन्दे खोला र सिम्ले खोलाले किसानको धान खेत बगाएको छ ।
लगभग ५ सय रोपनी धान फल्ने खेत खोलाले बगाएको छ । सडक आयोजनाले किसानलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीय गोविन्द श्रेष्ठले बताए । आयोजनाको लापरबाहीकै कारण यो अवस्था आएको भन्दै उनले क्षतिपूर्ति नपाए आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
वडा नं ३ का वडाध्यक्ष दल बहादुर प्रधानका अनुसार सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनको लापरबाहीको कारणले करोडौँको धान खेत बगाएको छ ।
आफूहरूले इन्जिनियरको टोली नै ल्याएर अनुगमन गराएको र आयोजनालाई पत्र समेत पठाएको भन्दै उनले निरन्तरको अविरल वर्षाले झनै बढी समस्या उत्पन्न गराएको बताए ।
आयोजनाका स्थानीय ठेकेदार जनक खड्काका अनुसार क्षतिको सबै विवरण आयोजनालाई पठाइसकेको बताए । आयोजनाबाट भने कुनै प्रतिक्रिया नआएको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button