भ्रष्टाचारको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटारले आफूले गरेका विभिन्न भ्रष्टाचार काण्डहरुको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती जारी गरेको छ । २०८१ साउन १५ गते मंगलबार जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे राष्ट्रिय दैनिक’ले ‘रामेछाप नगरको ३ नं. वडा भ्रष्टाचारको अखडा बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समचारमा ५० हजार रुपैयाँको आयोजनामा उपभोक्तालाई प्राविधिक मूल्याङ्कनअनुसार २० हजार रुपैयाँ मात्रै भुक्तानी हुने भनेर वडा अध्यक्ष दल बहादुर प्रधान र सचिव सुजन थापाले झुट बोल्दै सोही योजनाको बाँकी रकम २७ हजार २८० रुपैयाँ कामै नगरी भुक्तानी लिएको र आर्थिक वर्ष २०७९।८० मा कामै नभएको योजनामा वडा कार्यालयले सिफारिस दिँदा रामेछाप नगरपालिकाको कार्यालयले १ लाख रुपैयाँ भुक्तानी दिएको र उक्त रकमबाट एक वर्ष वितिसक्दा पनि काम नभएको जस्ता भ्रष्टाचारजन्य विषयमा समाचार प्रकाशित गरेको थियो । त्यति मात्र नभएर एकै आर्थिक वर्ष एकै आयोजनामा बजेटको दोहोरोपनालाई समेत ख्याल नगरी वडाले बजेट हालेर नीतिगत भ्रष्टाचार गरेको विषय पनि समाचामा समेटिएको थियो । गत आर्थिक वर्ष २०८०।८१ मा रामेछाप नगरपालिकाबाट ३ नम्बर वडा कार्यालय साँघुटारको लागि स्वीकृत कार्यक्रम ‘वाँकिमैरी सुवेदी टोल खानेपानी’का लागि नेपाल सरकारको नगद अनुदानतर्फको ५० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त आयोजनाको रकम प्राविधिक मूल्याङ्कनअनुसार २० हजार रुपैयाँ मात्रै भुक्तानी भयो भनेर कामदारलाई पैसा दिएको वडाले बाँकी रकम फ्रीज भएको बताएको थियो । यसरी २० हजार रुपैयाँ मात्रै भुक्तानी आउने र आयोजनाको बाँकी रकम फ्रिज हुने बताएका वडा अध्यक्ष प्रधान र वडा सचिव थापाले ४७ हजार २ सय ८० रुपैयाँ भुक्तानी लिएको खुलेको थियो । त्यसपछि यस विषयमा वडा अध्यक्ष र सचिवसँग बुझ्दा उनीहरुले पनि आयोजनाको २० हजार रुपैयाँ मात्रै भुक्तानी लिएका र बाँकी रकम फ्रिज भएको बताएका थिए । वडा अध्यक्ष प्रधानले २० हजार रुपैयाँ मात्रै भुक्तानी भएको भनेर झुटो बोलेका थिए । वडा अध्यक्ष प्रधानले भने,‘ इन्टेकको मात्रै पैसाचाहिँ तपाईको तई १५।२० हजार कति निस्क्यो, तेइ पैसा उहाँहरुलाई भुक्तानी भयो, पैसा भुक्तानी २० हजार मात्रै हो ।’ सबै पैसा भुक्तानी लिनु भएको रहेछ नि भेनर गरिएको प्रश्नमा अध्यक्ष प्रधानले पाइपको खरिदको बिल पेश गरेर सबै पैसा भुक्तानी लिइएको बताएका थिए । वडा अध्यक्ष प्रधानकाअनुसार पाईप खरिद नै नगरीे बिल पेश गरेर भुक्तानी लिएको पनि खुलेको थियो । ‘पाइप लगभग १९ हजार पाइपको बिल गरेको होला, त्यसबाट कति पाइप छ हेर्नुपर्छ । बढी लिए पनि तपाईको चाइने यहाँ आएर हेर्न सक्नुहुन्छ, वडा समितिले निर्णय गरेको छ, उनले भनेका थिए ।’ वडा अध्यक्षलेजस्तै झुटो बोलेका सचिवले सुजन थापाले पनि २० हजार रुपैयाँ मात्रै भुक्तानी भएको र बाँकी बजेट फ्रिज भएको बताएका थिए । वडा सचिव थापाले हालसम्म पाइप खरिद नभएको बताएका थिए । उनले भनेका थिए, ‘हामीले साँढे २० जतिको बिले गरेको थ्यो, काम गर्नेले बिस हजार रुपैयाँ लगिसक्नुभयो । बाँकी पैसा त गयो, फ्रिज भयो ।’ त्यसैगरी, आर्थिक वर्ष २०७९।८० मा रामेछाप नगरपालिकाले ३ नम्बर वडा साँघुटारअन्तर्गतका विभिन्न खानेपानी आयोजनालाई लक्षित गरी १ लाख रुपैयाँ बजेट भुक्तानी दिएको थियो । आर्थिक वर्ष २०७९।८० को असार मसान्तमा पाइप खरिदको लागि बिलसहितको आवश्यक कागजात पेश गरी भुक्तानी लिएको देखिन्थ्यो । तर एक वर्ष वितिसक्दा पनि पाइप खरिद नभएको वडा अध्यक्ष दलबहादुर प्रधान स्वयम्ले नै पुष्टि गरेका थिए । वडा अध्यक्ष प्रधानले पाइप खरिद गरेको भनेर ददिराम सुबेदीले बिल पेश गरेर बजेट भुक्तानी लिएको हो तर हालसम्म पाइप खरिद नभएको सुनाएका थिए । उनले भनेका थिए,‘पाइपको लागि बिल पेश गरे हैन, त्यो तपाईले भनेजस्तै त्यो हार्डवयरको के बख्रेल हार्डवयरमा पैसा आयो, त्यो पैसा तपाईको चाइने ददिरामले लग्यो कि मैले पनि त्यो पाइप किन नहालेको काजी भनेर अस्ति पनि भने । दाई पाइप हाल्छु अस्ति पनि भन्थे । त्यो पाइप अहिलेसम्म हालेका छैनन् । त्यो ददिरामले हाल्नुपर्ने हो, ददिरामको नामबाट बख्रेल हार्डवयरमा आको हो, भनेका थिए ।’ यसरी वडा अध्यक्ष, वडा सचिव र स्थानीय बलबहादुर वि.क. लगायतलाई सोधर तत्थ्यगत रुपमा पुष्टि भइसकेपछि मात्रै समाचारको प्रकाशन गरिएको थियो । तर पछिल्लो समय वडा कार्यालयले आफ्नै सचिव र वडा अध्यक्षले समाचारका विषयमा दिएको सूचनाको विश्वसनीयतालाई समेत ख्याल नगरी वडामा भएका भ्रष्टाचारजन्य गतिविधिको ढाकछोप गर्न विज्ञप्ती नै निकालेको छ । ३ नं. वडा कार्यालयले २०८१ साउन २१ गते जनप्रतिनिधि र कर्मचारीको समेत संयुक्त दस्तखतमा ‘भ्रमपूर्ण समाचारको खण्डन सम्बन्धमा’ भनेर विज्ञप्ति निकाल्यो । गन्तव्य टुडेबाट प्रकाशित समाचार विषयवस्तुको यथार्थ जानकारी विना अनुमानका आधारमा आएको र यसले भ्रम फैलाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘मन्थलीबाट प्रकाशित गन्तव्य टुडे (अंक ३१६) सञ्चार माध्यममा मिति २०८१।०४।१५ गते रामेछाप नगरको ३ नं. वडा भ्रष्टाचारको अखडा बन्दै शीर्षकमा यस वडा कार्यालय सम्बन्धी भ्रामक सामाग्री प्रकाशित गरेकोमा वडा कार्यालयको गम्भीर ध्यानकर्षण भएको छ । विषयवस्तुको यथार्थ जानकारी विना अनुमानका आधारमा प्रकाशित उक्त भ्रम फैलाउने समाचार र प्रचारबाजी सम्बन्धमा खेद प्रकट गर्दै वडा कार्यालय सो को खण्डन गर्दछ । गन्तव्य टुडे सन्चार माध्यमले भ्रमपूर्ण कपोकल्पित कथावस्तु बनाई समाचार लेखि वडा कार्यालयलाई अनावश्यक विवादमा ल्याउने काम भएको देखिन्छ ।’
तर समाचार संस्थालाई वडा अध्यक्ष र सचिवले नै दिएको सूचनाको विरुद्धमा हुने गरी विज्ञप्ति आउनुले वडा कार्यालय आफूले गरेका कमिकमजोरी सच्याएर अघि बढ्नुको साटो उल्टै ढाकछोप गरेर अघि बढ्ने दाउमा देखिन्छ । समाचारमा कोड गरिएका वडा अध्यक्ष र सचिवको अभिव्यक्तिलाई वडाकै विज्ञप्तीले खण्डन गर्दा आमनागरिकले अब वडा अध्यक्ष र सचिवले बोलेका कुरालाई विश्वास गर्ने कि नगर्ने ? कतिसम्म विश्वास गर्ने ? भन्ने कुरामासमेत थप संशय पैदा गरेको छ ।