देश विकासका लागि काँग्रेस–एमाले मिलेका हुन्ः राज्यमन्त्री पूर्णबहादुर तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सबै समस्याहरूको समाधान गरी देश विकासका लागि काँग्रेस–एमाले सरकार बनेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवका अवसरमा फोनिज रामेछापले आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आयोजना गरेको सम्मान कार्यक्रममा राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।
मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गरी देश विकासका लागि काँग्रेस र एमालेले मिलेर सरकार बनाएको उहाँले बताए । ‘‘आज देशका ठुला पार्टीहरू नेकपा एमाले र नेपाली काँग्रेस देश बनाउनुपर्छ भने लागेका छन् । जनताको चाहना अनुसार मुलुकको विकास गरी समृद्ध बनाउन सकिएन । जसका कारण जनताले धेरै दुःख पाए । अब देश बनाउन दुई वटा ठुला पार्टी मिल्नुको विकल्प छैन भनेर अहिलेको सरकार बनेको हो । अब यो सरकारले जनचाहना अनुसार विकास गर्छ ।”
अहिले दुई वटा ठुला पार्टी मिलेर सरकार चलाउँदा देश विकासले गति लिन्छ भन्ने सबैमा सकारात्मक भावनाको विकास भएको राज्यमन्त्री तामाङको भनाइ छ ।
जिम्मेवारी लगायत अन्य कुराहरूका हिसाबले प्रधानमन्त्री कार्यालय पछि दोस्रो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भएको बताउँदै राज्यमन्त्री तामाङले यो मन्त्रालयले धेरै काम गर्न सक्ने बताए । उनले नेपाल विद्युत् प्राधिकरणमा लामो समयदेखि ३७ सय भन्दा बढी करारका कर्मचारीहरूले काम गरिरहेको भए पनि उनीहरूको सेवा सुविधा लगायतका बारेमा भएका सहमति समेत कार्यान्वयनमा आउन नसकेको बताए । रामेछाप जिल्लाको विद्युतीकरणलाई नाङ्गा तार रहित बनाउनका लागि पनि आफू लागि पर्ने उनले बताए । उनले भने “रामेछाप जिल्ला अहिले ६० प्रतिशत नाङ्गो तार रहित बनिसकेको छ । अब ४० प्रतिशत ठाउँहरूमा अझै नाङ्गो तार छ । यसलाई पनि चाँडो भन्दा चाँडो नाङ्गो तार रहित बनाउन आवश्यक योजना सहित लागिपरेको छु । यो काम पनि चाँडै हुन्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button