Trending

गौश्वाराबासीको एउटै माग– सडक विकास

अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछापको दुर्गम क्षेत्र मानिने दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयले सडक विकासमा राज्यको चासो नपुगेको गुनासो गरेका छन्। पटक–पटक सरकार फेरिए पनि गौश्वाराको अवस्था नफेरिएको उनीहरूको भनाइ छ।

स्थानीय रोशन थापा मगरका अनुसार व्यवस्था परिवर्तन र संघीयता आए पनि गौश्वारामा अपेक्षित विकास हुन सकेको छैन। “धेरै सरकार बने, व्यवस्था फेरियो तर हाम्रो गाउँ सधैं ओझेलमै पर्‍यो,” उनले भने।

स्थानीय कुलबहादुर मगरले पनि सडक अभावकै कारण गाउँ दुर्गममै सीमित भएको गुनासो गरे। “स्थानीय सरकार बने पनि गौश्वाराको स्तर माथि उठ्न सकेन,” उनले बताए।

नेपाली कांग्रेस रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्कासँगको भेटघाटका क्रममा स्थानीयले सडक निर्माणलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्। स्थानीय मानबहादुर श्रेष्ठले भने, “उपयुक्त सडक नहुँदा आवतजावत र आयात–निर्यातमा सधैं सास्ती खेप्नुपरेको छ। सडक बने दुर्गमको पहिचान केही घट्छ।”

स्थानीयका अनुसार सहज मोटर बाटो सञ्चालन हुन सके गाउँका लागि ठूलो उपलब्धि हुने थियो। एक स्थानीय वृद्धले भने, “नेताजी, सडक बनाइदिनुस्, अरू केही चाहिँदैन।”

स्थानीयको गुनासोपछि उम्मेदवार खड्काले आफू चुनाव जिते पनि नजिते पनि सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। “जहाँ धर्ना बस्नुपर्छ म बस्छु, आवश्यक परे तपाईंहरूको साथ माग्नेछु,” उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button