बाजुरामा यात्रुवाहक जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ घाइते

बाजुरा — बाजुराको हिमाली गाउँपालिका-५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। उक्त जिप हिमाली गाउँपालिका-२, नातीखोला बस्ने अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका-२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका-५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा बाजुरा हिमाली गाउँपालिका-२ नातीखोलाका २५ वर्षीय चालक जनविर बुढा र ३१ वर्षीया मिजरा बुढा रहेका छन्, जसको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम छ।
त्यसैगरी हुम्ला ताजाकोट गाउँपालिका-५ का २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा पनि घाइते भएका छन्। उनीहरूको हात, टाउको, कम्मर र आँखामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको नेपाल प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button