बानियाँ सरकार सङ्कटमा: एमालेका ६ मन्त्रीद्वारा सामूहिक राजीनामा, समर्थन पनि फिर्ता

हेटौँडा — बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का छ जना मन्त्रीहरूले मंगलबार पदबाट सामूहिक राजीनामा दिएका छन्। एमालेले मन्त्रीहरू फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै बुझाएको संयुक्त राजीनामा पत्रमा पार्टीको निर्णय र विद्यमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम राजीनामा दिइएको उल्लेख छ। राजीनामा पत्रमा सरकारबाट बाहिरिने निर्णय तत्काल स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
सरकारबाट राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री (यातायात) जयराम थापा, कृषि (वन तथा वातावरण) मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास (स्वास्थ्य) मन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
हालै बागमती प्रदेशमा १४ वटा मन्त्रालय घटाएर ८ वटामा झारिएपछि कतिपय मन्त्रीहरू जिम्मेवारीविहीन तथा सीमित क्षेत्रगत भूमिकामा खुम्चिएका थिए।
राजीनामा बुझाउन काठमाडौंबाट हेटौंडा पुगेका मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरणबारे शीर्ष तहमा सहमति भएपछि पार्टी नेतृत्वले राजीनामा दिन निर्देशन दिएको हो।
नेपाली कांग्रेसले एमालेसँगको सहकार्य अघि नबढाउने निर्णय गरेसँगै प्रदेशहरूमा एमाले र नेकपाबिच नयाँ सरकार गठनको गृहकार्य तीव्र बनेको छ।
बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेबिच संयुक्त सरकार सञ्चालन हुँदै आएको थियो। झन्डै दुई वर्ष लामो गठबन्धन टुङ्गिएसँगै मुख्यमन्त्री बानियाँले संविधानअनुसार अबको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक संकट खडा भएको छ।



