दसैँ आयो, खर्च छैन, बचत गरेको पैसा स्वावलम्बनले फिर्ता दिँदैन

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुवित्तमा बचत गर्न सुरु गरिन् । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुवित्तका केही कर्मचारी समूह बनाउन गाउँ पसे । गाउँमै आएको स्वावलम्बन बैँक भन्दै लघुवित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुहपनि गठन गरे । त्यो समयदेखि हरेक महिना ३ सयदेखि एक हजारसम्म बचत गर्दै आएकी थिइन् सुनिताले ।
समस्यापरेको बेला समस्या टर्ला, खरखाँचो टर्ला भनेर खाई नखाई बचत गरिन सुनिताले । कोदो मकै बेचेर, खसी बोका बेचेर भए पनि सुनिताले बचत गर्न छाडिनन् । कुनै दिन पैसाको खाँचै पर्ला र निकालौला भनेर बचत गरी रहिन ।
यो वर्ष साह्रै खाँचो प¥यो उनिलाई । लालाबालालाई दसैँमा मिठो खवाउनै प¥यो । एक जोर नयाँ लुगा किनिदिनै प¥यो । दसैँ मान्न समेत पैसा नहुने भयो उनीसँग । के गरी दसैँ मनाउने भन्ने प्रश्न मनमा खेलिरहेको बेला उनको दिमागमा झट्ट आयो “स्वावलम्बन लघुवित्त“ । स्वावलम्बन लघुवित्तमा वर्षौँ देखि जम्मा गरेको पैसा छ नि, उनले त्यही पैसा निकालेर यसपालिको दसैँ मान्ने निधो गरिन।
सुनिता बचत गरेको पैसा निकाल्न स्वावलम्बन लघुवित्त पुगिन् । तर स्वावलम्बन लघुवित्तले उनको बचत गरेको पैसा दिन आनाकानी ग¥यो । उनले अँधेरो अनुहार पार्दै भनिन – “दसैँ आइसक्यो, खर्च छैन । आफूले बचत गरेको पैसा माग्यो दिँदैनन्।“
उमेरले ६० वर्ष पुग्नै लागेकी सुनिताको परिवारमा कमाउने कोही छैन । आफूले बचत गरेको पैसा झिकेर दसैँ मान्ने योजनामा रहेकी सुनिताको यो दसैँ खल्लो हुने अवस्था छ । तीनमहिना अघि नै बचत फिर्ता पाउँभन्दै निवेदन दिएको भएपनि स्वावलम्बन लघुवित्तले आलटाल गरिरहेको सुनिता बताउँछिन् । उनी भन्छिन् – “आफ्नो इच्छा आकंक्षालाई मारेर यस्तै सङ्कटमा काम लाग्छ भनेर नै जम्मा गरेकी हुँ मैले त्यो पैसा । गाउँको बैंक भनेर नै विश्वास गरेको थिए । मैले त दुखमा काम लाग्छ भनेर दुखै गरेर जोगाएकी थिए त्यो पैसा । स्वावलम्बन लघुवित्त “दुखमा काम लाग्ने भन्दापनि दुख दिने हराम पो रैछ ।“
सुनितामात्रै नभएर अरू पनि धेरै नागरिकले बचत गरेको पैसा स्वावलम्बन लघुवित्तले फिर्ता दिएको छैन । रामेछाप नगरपालिका– ७ पालेवनकी मिठु महताराले पनि यो लघुवित्तमा बचत गरेको ८ वर्ष भैसकेको छ । ८ वर्षदेखि आफूले ऋण पनि नलिई पैसा मात्रै बचत गरेको उनी बताउँछिन् ।उनी भन्छिन्– “सबै प्रक्रिया पुरा गरेर निस्कन खोज्दा पनि स्वावलम्बन लघुवित्त संस्थाले आलटाल गरिरहेको छ । आफूले बचत गरेको पैसा समेत दिन मानेको छैन । त्यहाँका कर्मचारीले बचत गरेको जम्मा रकम पाउनु हुन्छ भन्दै आश मात्र देखाउँछ । पटक पटकफोन सम्पर्क गर्दा तपाईँको काम चाडै हुन्छ मात्रै भन्छन् ।
नागरिकको बचत फिर्ता नगर्ने स्वावलम्बन लघुवित्तलाई तुरुन्तै बचत फिर्ता गर्न निर्देशनदिने जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला बताउँछन् । स्वावलम्बन लघुवित्तले निर्देशन नमानेको खण्डमा आवश्यक कारबाही अघि बढाइने बताउँछन् ।
स्वावलम्बन लघुवित्तसँग सबै बचतकर्तालाई एकै पटक बचत फिर्ता गर्ने पैसा नभएको गैर जिम्मेवारीपूर्ण जवाफ रामेछाप शाखाका प्रमुख सत प्रताप गोंग दिन्छन् । उनी भन्छन् – हामी एक–एक गरेर पैसा फिर्ता दिन्छौँ । हामी सँग भए सम्म दिन्छौँ । बचतकर्ताको प्रक्रिया केन्द्रीय कार्यालय पठाइसकेको उनी बताउँछन् । संस्थाको पैसा ऋण लगानीमा धेरै गएका कारण बचत फिर्ता दिने रकमसमेत नभएकाले पनि बचत फिर्ता गर्नमा ढिलाइ भएको उनी बताउँछन् ।
रामेछाप जिल्लामा स्वावलम्बन लघुवित्त जस्तै अरू धेरै लघुवित्तहरूले पनि बचत फिर्ता दिन आलटालगर्ने गरेको नागरिकहरूले गुनासो गर्ने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button