रामेछापमा अवैध रूपमा बालुवा लोड गरिरहेका ३ सवारी साधन नियन्त्रणमा, रु ६७ हजार ५ सय जरिवाना

मन्थली (रामेछाप) — तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापले तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारमा गैरकानुनी रूपमा बालुवा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी गस्ती टोलीले साउन १२ गते बिहान ८:०० बजे ती सवारी साधन र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई थप कानुनी कारबाहीका लागि मन्थली नगरपालिकाको कार्यालयमा बुझाइएको थियो। नगरपालिकाले ती सवारी साधन र चालकहरूलाई कुल ६७ हजार ५ सय रुपैयाँ जरिवाना गराएको छ।
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूमध्ये खाँडादेवी गाउँपालिका–४, पकरवास बस्ने ३१ वर्षीय रामचन्द्र कार्कीले चलाएको बा.५ ख ७५७१ नम्बरको मिमिट्रकलाई रु २२,५०० जरिवाना गराइएको छ।
त्यसैगरी, मन्थली नगरपालिका–६, हात्तिटार बस्ने ३४ वर्षीय अनिश माझीले चलाएको बा.४ ख ९२४८ नम्बरको ट्रिपरलाई रु ३०,००० र सोही वडाको कुनौरी बस्ने ३० वर्षीय मनिष माझीले चलाएको मधेस प्रदेश ००३ त ९५८५ नम्बरको ट्याक्टरलाई रु १५,००० जरिवाना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतका अनुसार नदीजन्य पदार्थको अवैध दोहन र प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन नियन्त्रण गर्न प्रहरीले निगरानी तथा गस्ती थप कडा बनाएको छ।



