मौरीले फस्टाएको श्रीकृष्णको जीवन

रामेछाप । घर वरिपरि फलफूलका बगैँचा, फूलबारी । फूलबारीमा मौरी भुनभुनाई रहन्छ । माहुरीको भुनभुनको आवाज सँगै बगैँचाको सौन्दर्यताले मनै लोभ्याउँछ । त्यहाँ पुग्दा आफू कुनै छुट्टै सौन्दर्य टापुमा पुगेको भान हुन्छ ।
यो ठाउँको रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ आहाल डाँडा । आहाल डाँडामा श्रीकृष्ण श्रेष्ठले मौरी पालन व्यवसाय सञ्चालन गरेका छन् । मौरीपालनबाट कृषक श्रेष्ठले राम्रो आम्दानी गर्दै आएका छन् । २०७२ सालदेखि व्यावसायिक रूपमा मौरी पालन सुरु गरेका श्रेष्ठले वार्षिक लार्खौ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
२०७१ सालमा जिल्ला कृषि विकास कार्यालय रामेछापबाट मौरी पालन व्यवसाय सम्बन्धी तालिम पाएपछि श्रेष्ठले ‘आहालडाँडा उन्नत मौरी फार्म’ दर्ता गरी मौरी पालन तथा घार निर्माण व्यवसाय सुरु गरेका थिए ।
३० लाख रुपैयाँ लगानीबाट व्यावसायिक मौरी पालन सुरु गरेका श्रेष्ठले मह साथै मौरीको घार उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । १ केजी महलाई एक हजार रुपैयाँ पर्दछ भने एक घार मौरी ८ हजार रुपैयाँमा बिक्री हुने उनले बताए ।
अघिल्लो वर्ष १५ लाख रुपैयाँ आम्दानी भएको कृषक श्रेष्ठले जानकारी दिए । उनको फार्ममा ओखलढुङ्गा, उदयपुर, खोटाङका मौरी पालक कृषकहरूले समेत मौरी सहितको घार किनेर लैजाने गरेको उनी बताउँछन् । मौरी सहितको घार बेचेकोले अहिले धेरै मौरीको घार नभएको उनी बताउँछन् । उनी भन्छन् – अहिले त म सँग ९० घार मात्रै मौरी छन् । यिनीहरूलाई अरू घारमा सारेर फेरि बेच्नु पर्छ । त्यसैले यति चाहिँ राखेको हुँ ।
उनले मौरीको घार बनाउन कारखाना नै सञ्चालन गरेका छन् । घार बनाउने कारखानामा दुई जनाले रोजगारी समेत पाएका छन् । मौरीको घार निर्माणबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुने ‘आहालडाँडा उन्नत मौरी फार्म’ मार्फत घार निर्माण गर्दै आएका सिकर्मी ललित केसीले बताए । दैनिक ३ देखि ४ वटा सम्म मौरीको घार निर्माण गरिने र एउटा घारको १ हजार रुपैयाँ ज्याला लिने गरेको केसीको भनाई छ ।
उनी मौरी पालन व्यवसायमा मात्र आबद्ध छैनन् । मौरी पालक कृषक श्रेष्ठले मौरी पालन व्यवसायसँगै फलफूल तथा तरकारी खेती र बाख्रा पालन व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । फलफूलको बिरुवामा मौरीले परागसेचन गर्दा फलफूल फस्टाउने भएकाले फलफूल उत्पादनमा पनि वृद्धि भएको कृषक श्रेष्ठको भनाई छ ।
आफ्नो परिश्रम अनुसार आम्दानी राम्रो हुँदै गएपछि उनी अहिले आफ्नो व्यवसाय प्रति खुसी छन् । मौरीपालन पेसा झन्झटिलो नभएको र आम्दानी पनि राम्रै हुने भएकाले यो व्यवसाय प्रति आफू थप आकर्षित भएको उनी बताउँछन् । यो व्यवसायलाई राम्रो सँग चिन्न सके युवा पुस्ताहरू विदेश जान नपर्ने गरी यही मनग्य आम्दानी लिन सकिने श्रेष्ठको दाबी छ ।
श्रेष्ठ एक अनुभवी र दक्ष किसान हुन् । उनले अहिलेसम्म धेरै प्रकारका तालिम पनि लिएका छन् । आफ्ना सबै काममा परिवारको पनि राम्रो साथ मिलेको छ । श्रेष्ठले गाउँका केही स्थानीयलाई पनि मौरी पालन कसरी गर्नेबारे सल्लाह सुझाव दिँदै आएका छन् । केहीले त सल्लाह सुझाव मार्फत नै गाउँमा मौरी पालन सुरु गर्न लागेका पनि छन् ।
पछिल्लो समय बजारमा भित्रिएका गुणस्तरहीन महले गर्दा आफ्नै गाउँघरमा उत्पादन भएको महलाई बिक्री वितरण गर्न कठिनाइ भएको उनले गुनासो पोखे । स्थानीय सरकारले पनि यसमा विशेष ध्यान दिनु पर्ने माग उनको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button