जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो
रामेछाप । नदि किनारमा जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो । हामीले त पानीले नबगाउने गरी चिता बनाएका थियौँ । जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगायो । एक्कासि नदीमा ठुलो भेल आयपछि मलामीहरूले भागेर ज्यान जोगाए । नभागेको भए त मलामी गएकाहरूलाई पनि लास सँगै बनाउने रहेछ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईले दुखित हुँदै भने ।
यो घटना मंगलबार साँझ ७ बजेको समयको हो । लिखु–३ जलविद्युत आयोजनाले एक्कासि पानी खोल्दा जनाउँदै गरेको लास बगाएको हो । हामीले जल्न बाँकी लास धेरै समय सम्म खोज्यौ । तल तल सम्म पुगेर खोज्यौँ तर कतै भेट्न सकेनौँ– मलामी गएका लालप्रसाद भट्टराईले भने । उनले भने – ’हाम्रो बाउबाजेले भनेका अनुसार लास पुरै नजले आत्माले शान्ति पाउँदैन रे । भोली आत्मा भड्केर दुख दिनेपो हो की ? लासको दाह संस्कार गर्न आएका हाम्रो नै झन्डै स्वर्गबास भएन । यो एउटा प्रतिनिधि मूलक घटना मात्र हो यस्तो घटना धेरै पटक भइसक्यो ।’
रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना
(स्वेतगंगा हाइड्रोपावर) को मनपरीतन्त्रले गर्दा यो अवस्था आएको स्थानीय बताउँछन् । स्वेतगंगा हाइड्रोपावरको दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । गाम्नाङटारका भट्टराईहरूको घाट लिखु गाउँपालिका–६ को तीतो खानी भन्ने ठाउँमा छ । डुँडे खोलाको दोभानमा रहेको उक्त घाटमा लास जलाउने क्रममा आयोजनाले पानी छाडेको हो ।
जलविद्युत आयोजनाले कुनै सुचनानै जारी नगरी आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका हुन् । सूचना जारी नगरी आफू अनुकूल ड्याम खोल्दा जलाउँदै गरेको लास समेत खोलाले बगाउने गरेको छ । हाइड्रोपावरलाई जतिबेला मन लाग्छ त्यतीबेला ड्याम खोल्दिन्छ । यसबाट हुने असरको बारे सोच्दै नसोची हाइड्रोले दादागिरी देखाउँदै आएको स्थानीयले गुनासो पोखे ।
नियमानुसार हाइड्रोले १० प्रतिशत पानी छाड्नुपर्ने हुन्छ । तर स्वेतगंगाले यसअघि त्यो १० प्रतिशत पानी समेत छाड्ने गरेको छैन । सबै पानी थुनेर हिउँदमा खोला सुकाएको र बालीनाली समेत मर्ने गरेको छ । जलचरहरू समेत मरेको छ – लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले भनिन । उनले भनिन– हामीले अनुगमन गर्दा कारबाहीको चेतावनी दिए पनि स्वेतगंगा हाइड्रोपावर मनपरी कायमै छ ।
आयोजनाका प्रमुख रबिन्द्र तिमिलसिनाले भने पानी माथिको ओभानो बन्न खोज्छन् । उनी भन्छन्– आयोजना प्रति हामीलाई कुनै पनि स्थानीयको गुनासो आएको छैन । जलाउँदै गरेको लास यदि ड्यामको पानी खोल्दा बगाएको भए हामीलाई जानकारी हुन पर्ने हो । त्यस्तो कुनै पनि प्रकारको जानकारी हामी सँग आएको छैन ।
पालिकाकाले दिएको चेतावनी समेत नटेर्नेले हामी किसानको कुरा के टेर्ला र ? एक स्थानीयले भने । उनले भने– आयोजनाको विरोध हामीले कसरी गर्ने ? समाजका अगुवा भन्ने सबै हाइड्रो सँग मिलेका छन् । आयोजनाको विरोध गर्दा हामीले पुर्ख्यौली यो ठाउँ नै छाड्नुपर्छ ।हामीलाई यो ठाउँमा बस्न दिँदैन। खोलामा गाईबस्तुले खान समेत पानी छैन । हाइड्रोले सबै पानी ड्यामतिर लैजान्छ । खेतीयोग्य जमिन बाँझो हुन थालिसक्यो । आयोजनाले कतिखेर पानी खोल्छ र सिचाइ गरौँ भन्ने अवस्था छ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ।
विना सूचना ड्याम बन्द गर्न वा खोल्न नमिल्ने रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउँछिन् । यदि बिना सूचना हाइड्रोले ड्याम खोल्ने र बन्द गर्ने गरेको हो भने यस विषयमा आयोजना सँग जवाफ मागी आवश्यक परे कार्वाहिको दायरामा ल्याउँछौँ । जलविद्युत आयोजनाले पानी कम्तीमा १० प्रतिशत जुनसुकै समयमा छाड्नै पर्छ । १० प्रतिशत पानी नछाडेको हो भने ओखलढुङ्गा सँग सहकार्य गरेर कानुनी प्रक्रियामा अघि बढाउँछु – प्रजिअ निरौलाले भनिन ।