लिखु जलविद्युत आयोजनाका कामदारको शव चार दिन देखि अलपत्र

रामेछाप । लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधवार एक जनाको मृत्यु भयो । कामदार कैलाश कार्कीको मृत्यु भएको आज चार दिन भई सक्यो । तर आज सम्म पनि कार्कीको शव आफन्तले बुझेका छैनन् ।
कामको सिलसिलामा मृत्यु भएका कारण मृतक कार्कीका आफन्तले आयोजना सँग क्षतिपूर्तिको माग गरेका थिए । आफन्तले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन् ।
आयोजनामा कार्यरत रामेछापको गोकुलगंगा १ चुचुरेका कैलाश कार्कीको बुधवार निर्माण स्थल गुम्देलको टाङदिङमा काम गर्दै गरेको अवस्थामा कान्लाबाट खसेर मृत्यु भएको थियो । रामेछाप र सोलुको सीमा नदी लिखुमा निर्माणाधीन लिखु १ जलविद्युत आयोजनामा कार्की मिस्त्री पदमा कार्यरत थिए । कार्की आयोजनामा ४ महिना देखि कार्यरत थिए ।
कार्कीको घटनास्थलमानै मृत्यु भई सकेको थियो । तर आयोजनाले मृतक कार्कीलाई घाइते भनेर एम्बुलेन्समा हालेर मन्थली तर्फ लैजाँदै गरेको सूचना पाएपछि उनका आफन्तजनले रामेछापको गुम्देलमा पर्ने कोर्याममा शव राखिएको एम्बुलेन्सलाई रोकेका थिए । एम्बुलेन्समा रहेको कार्कीको शव चार दीन सम्म कोर्याममा छ ।
मृतक कैलाश कार्कीका परिवारले माग गरेको क्षतिपूर्ति माथि आयोजनाले हाल सम्म त्यस बारेमा चासो नदिएकोले मृतकको शव नबुझेको कार्कीका आफन्त सन्तोष कार्कीले बताए । कार्कीले भने, ’आयोजनाले सामान्य मानवीयता समेत देखाएको छैन ।’ घाइते भएका कार्कीलाई उपचार गराउन लैजाँदै गर्दा बाटोमा मृत्यु भएको दाबी आयोजनाले गरेको छ । ’शव एम्बुलेन्समा नै छ, हामीले बुझेका छैनौँ,– कार्कीले भने ।
घटनास्थलमा बिहीबार नै प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । मृतकका आफन्त र आयोजनाका बिचमा कुरा भइरहेको तर सहमति नभएकोले शव उठ्न नसकेको उनले बताए ।
यस अघि पनि कामको सिलसिलामा मृत्यु भएका कामदारलाई उचित क्षतिपूर्ति नदिएको गुनासो प्रभावित क्षेत्रका बासिन्दाले गर्दै आएका छन् । लिखु जलविद्युत आयोजनाले यसअघि पनि यसै गरी कामदार मृत्यु हुँदा मृतकका आफन्तलाई दुख दिने, सताउने, तर्साउने गरेको स्थानीय बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button