देउसी भैलो खेल्ने समय तोकेर सुरक्षाको दायित्वबाट पन्छियो प्रशासन

रामेछाप । लक्ष्मीपूजाको दिन देखि पहिले पहिले रात भर दिन भर भैलो खेल्ने गरिन्थ्यो । गोबर्द्धनपूजाको दिन देखि एकादशी सम्म देउसी खेलिन्थ्यो । तर अचेल तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् । तर रामेछाप जिल्ला प्रशासनले त्यसलाई पनि घटाएर ९ बजे सम्म बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले २४ गते नै सूचना जारी गर्दै भनेको छ – ’नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् एवं छठको दिव्य एवं पावन अवसरमा सम्पूर्ण रामेछाप जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । यस पर्वको अवसरमा गरिने धार्मिक, सामाजिक एवं सांस्कृतिक रीतिरिवाज एवं गतिविधिहरू गर्दा धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बढाउने, व्यक्तिको आध्यात्मिक विकास गर्ने कुरालाई ध्यान दिई गर्नुहुन साथै देउसी भैलो खेल्दा सामाजिक अनुशासन र मर्यादालाई पालना गर्दै मदिरा रहित, उत्ताउलो र भड्किलो नभई संयमता र शालीनतापूर्वक संस्कृतिको जगेर्ना गर्ने एवं सामाजिक सचेतना अभिवृद्धि गर्ने किसिमले गर्नुहुन समेत जिल्लास्थित सबै राजनीतिक दल, संघ संस्था एवं आम नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछौँ । पर्वको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै दीपावली गर्दा विशेष सजगता अपनाउनु हुन र देउसी भैलो खेल्दा रातको ९ बजेसम्म मात्र खेल्नु हुन समेत सबैमा सविनय अनुरोध गर्दछौ ।’
सरकार सुरक्षाको दायित्वबाट पन्छेर देउसी भैलोलाई रोक लगाएको प्रतिक्रिया संस्कृतिविज्ञ डा. जगमान गुरुङ दिन्छन् । देउसी भैलो तिहारमा मात्र खेलिने परम्परा छ । तिहारको समयमा घरघरमा गई देउसी गीत गाएर नाच गान गर्ने, घरधनीले आफूले सकेको दक्षिणा दिने चलन छ – उनले भने ।
गुरुङले भने – ‘देउसी भैलोको मौलिक महत्त्व रहेको छ । समय नै तोकेर यति बेलादेखि नखेल, थोरै समय राखेर खेल भन्नु त गलत हो । बरु देउसी खेल्नेमाथि निगरानी राख्नु, सुरक्षा दिनु चाहिँ सुरक्षा निकायको दायित्व हो ।’ प्रशासनले उर्दी गर्न नहुने भन्दै गुरुङ थप्छन्, ‘अनुशासनको उलङ्घन कसैले गर्छ भने उसलाई कारबाही गर्ने हो, संस्कृति जगेर्नासहित खेल्नेहरूलाई रोक्ने होइन । यो भनेको प्रशासनले आफ्नो कमजोरी देखाएको हो । भड्किला शैली, अमर्यादित गतिविधि, अनुशासनहीन व्यक्तिहरूलाई प्रशासनले कारबाही गर्नुपर्ने हो । तर त्यसलाई देखाएर संस्कृति संरक्षणको कामलाई नै बाधा गर्न हुँदैन।’
अहिलेका युवाहरूले देउसी भैलो नै भुलिसकेको हो कि भन्ने लागेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । उनी भन्छन् – पहिले पहिले रात भर रातभर देउसी खेलेर हिँडिन्थ्यो । तिहारमा देउसी भैलोको छुट्टै महत्त्व थियो । सिदामा आएको सेल रोटी, फलफूल खाएर रात भर देउसी खेलिन्थ्यो । बिहान केही समय पालो गरेर एकादशी सम्म देउसी खेल्ने गरिन्थ्यो । अहिलेका युवाहरू त सके सम्म देउसी भैलो खेल्न नपरे हुन्थ्यो झैँ गर्छन् । खेल्ने रहर गर्नेलाई पनि जिल्ला प्रशासनले सुरक्षा दिन सक्दिन भनेर ९ बजे पछि देउसी भैलो नखेल्नु भनेको छ । यस्तै रोक लगाउँदै जाने हो भने एक दिन देउसी भैलोको परम्परा नै लोप हुन सक्छ । संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।
शान्ति सुरक्षा बलियो बनाएर देउसी भैलो कार्यक्रम रातभरि खेल्न पाउनु पर्ने पवन चापागाँई बताउँछन्।
देउसी भैलो हाम्रो संस्कार परम्परा हो। मर्यादित भएर परम्परागत रूपमा मादल र डम्फु बजाएर राती अबेर सम्म खेल्न लगाउँदा हुन्छ । दोहोरी, रिमिक्स र डिजे हरू बाट हुने ध्वनि प्रदूषणहरूमा चाहिँ समय तोक्दा हुन्छ । हामी सानो हुँदा बिहान उज्यालो हुँदासम्म खेलेको यादहरू झलझली आइरहन्छ । – अर्जुन थापा भन्छन् ।
गृह मन्त्रालयले भने सुरक्षाको दृष्टिकोणले प्रमुख जिल्ला अधिकारीहरूले देउसी भैलोको समय तोकेको हुन सक्ने बताएको छ । देउसी भैलो रोक्ने योजना नभएको तर प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षाको अवस्था हेरेर समय तोकेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था हेरेर समय तोकेको होलान्, तर बन्देज लगाउने योजना छैन’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button