त्रिपालमा बस्दै भूकम्पपीडित, बढ्यो ज्वरोको प्रकोप

सल्यान । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका–२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ । चार वर्षकी छोरीलाई पनि ज्वरोले गलाएको छ ।
चिसो बढेसँगै त्रिपालमा बस्दै भूकम्पपीडितमा ज्वरोको प्रकोप बढ्यो
चिसो बढेपछि दार्मा गाउँपालिका–२, लिरापाजाकै २८ वर्षीया निमा केसी पनि बिरामी भएकी छन् । उनलाई केही दिनदेखि ज्वरो आउने, शरीर दुख्ने समस्याले सताएको छ । नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गरेपछि सिटामोल खाइरहेकी छन् । तर उनको ज्वरो पूर्ण हटेको छैन । उनले भनिन्, ’२÷४ दिन भयो चिसो बढेको त्रिपाल मुनि सुत्दा चिसोले समायो । शरीर पहिला भन्दा झनै कमजोर भएको छ ।’

घर चर्किएर बस्नै नमिल्ने भएपछि शनिबारदेखि पाखोबारीको डिलमा त्रिपाल लगाएर बस्दै आएकी लिरेडाँडाकी एक महिने सुत्केरी १९ वर्षीया बिन्दु खडकाको पहिलेदेखि चिसोले गर्दा शरीर सुन्निएको थियो । आगो बालेर सेकताप गर्दा ठिक भएकी उनलाई अहिले रुघाखोकी र ज्वरोको समस्याले सताएको छ । स्वास्थ्य संस्था टाढा भएकाले उनी उपचारका लागि समेत जान सकेकी छैनन् । आफनो बच्चालाई समेत उनले राम्रोसँग स्याहार गर्न पाएकी छैनन् ।
दार्मा गाउँपालिकामा भूकम्पले बस्नै नमिल्ने गरी घर भत्किएपछि त्रिपालमा बाँस बस्दै आएका बालबालिका, महिला ,सुत्केरी तथा वृद्धवृद्धामा पछिल्नो समयमा भाइरल ज्वरोको प्रकोप ह्वात्तै बढेको छ । केही दिन यतादेखि एकासी बढेको चिसोले त्रिपालमा बस्दै आएका परिवारमा भाइरल ज्वरोको प्रकोप ह्वात्तै बढेको हो ।
दार्मा गाउँपालिकामा भूकम्पका कारण पालिकाभर झन्डै ४ हजार घर क्षति भएका थिए । १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएको छ । २ हजार भन्दा बढी त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएका धेरैमा भाइरल ज्वरोको समस्या देखिएको छ ।
भालुखोलाकी २० वर्षकी दुई महिने सुत्केरी नविना खड्का भन्छिन्– ‘टाँगेको त्रिपालबाट राति शीत चुहिन्छ । चारैतिरबाट हावा छिर्छ । २४ सै घन्टा आगो बालेर बस्न सकिँदैन । ओढ्ने, ओछ्याउने कपडा गतिला छैनन् । जसका कारण चिसोले गर्दा रातभरी शरीर कट्कटी खान्छ । बिहान उठ्दा आँखामा कचेर लागेको हुन्छ । चिसोबाट ज्यान बचाउन धेरै सकस भएको छ ।’ चिसोको कारण दुई महिने बच्चालाई खोकी लागेको उनको भनाइ छ ।

पहिला खासै समस्या नदेखिएपनि भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले अहिले आफू पनि प्रभावित भएको बछेलाका ४४ वर्षका ज्ञानबहादुर खड्काले बताए । ज्वरो मात्र नभइ शरीर दुख्ने गर्दा रातिको समयमा बढी चिसो हुने भएकाले झनै गाह्रो हुने गरेको उनले जानकारी गराए । दिउँसोमा घाम तापेर बस्दै आएपनि राति चिसोबाट बच्नका लागि पर्याप्त मात्रामा न्यानो कपडा नभएकाले समस्यामा परेको उनको भनाइ छ ।
भाइरल ज्वरो बढेपछि अहिले स्वास्थ्य संस्थामा दैनिक १०÷१२ जना बिरामी स्वास्थ्य चौकीमा आउने गरेको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार बिहान, बेलुकी र राति चिसो हुँदा बालबालिकामा निमोनिया, वृद्धवृद्धामा दमको जोखिम बढेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले चिसोको कारण झाडापखाला, निमोनिया, टाइफाइड जस्ता रोगको महामारी फैलिनसक्ने जोखिम बढेको बताए । केही दिन अहिले पालिकाको प्रभावित बस्तीका घरघरमा गएर बिरामीको उपचार गरेका उनले एकै परिवारका तीनजनामा झाडापखालाको समस्या देखिएको र अन्यमा रुघाखोकी, जवरोको समस्या देखिएको जानकारी गराए । महामारीबाट बच्नका लागि तातो तातो सुप तथा पौष्टिक आहारको सेवन गर्न र थप स्वास्थ्य सचेतना अपनाउन भूकम्पपीडित परिवारलाई उनले सल्लाह दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button