अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा

रामेछाप । मन्थली नगरपालिकाले वडा नं १२ गेलुका अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गता सम्बन्धी सचेतिकरण गर्नुका साथै न्यानो कपडा दिएको छ । ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर पारेर नगरले गेलुका २१ जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा दिएको हो ।
अपाङ्ग सचेतन सेवा केन्द्र रामेछाप सँगको सहकार्यमा गेलुमा रहेका क वर्ग, ख वर्ग र ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरले आइतबार वडामा नै पुगेर न्यानो कपडा दिएको हो ।
मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा स्वरूप एक–एक थान कम्मल दिएकी हुन । सीमित बजेटको कारण पनि मन्थली नगरपालिकाले नगर भित्र रहेका अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिक,वाल वालिका र हिंसामा परेका महिलाहरूका लागि उल्लेखनीय रूपमा काम गर्दे आएको उप प्रमुख बस्नेतले । नगरले आवश्यक परे राज्यको नीति र विधि भित्र बसेर आवश्यकताको आधारमा जस्तोसुकै सहयोग गर्ने बस्नेतले प्रतिबद्धता गरिन ।
सहभागीहरूलाई अपाङ्गता सम्बन्धी सचेतना र त्यस सम्बन्धी जोडिएका घटना विवरण त्यस सँग जोडिएका विभिन्न कारण र उनीहरूको हकहित, अधिकार र कानुनी व्यवस्थाका बारेमा सहभागीहरूलाई अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले सहजिकरण गरेका थिए ।


