वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै

रामेछाप । रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए भने पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा २ हजार २२ जना बढी अर्थात् ७ हजार ५ सय ६२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीमा गएका ७ हजार ५ सय ६२ जनामा ६ हजार ४७ पुरुष र १ हजार ५ सय १५ जना महिला रहेका छन् । १३ ओटा जिल्ला भएको बागमती प्रदेशमा सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लाको संख्यामा रामेछाप जिल्ला ९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
रामेछापबाट बितेको पाँच वर्षमा जिल्लाबाट विभिन्न देशमा वैदेशिक रोजगारीको लागि गएका ४१ जनाले ज्यान गुमाएका हुन् । बागमती प्रदेशमा पाँच वर्षमा ६ सय ५५ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारीले पारिवारिक बेमेल, घरेलु हिंसा, पारिवारिक विखण्डन, आन्तरिक बसाइसराइमा वृद्धि जस्ता घटनाहरू बढेको हेल्भेटास नेपालको सामी (सिन्धुपाल्चोक र रामेछाप) का कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताए ।
गाउँघरका युवाहरूलाई विदेश नजाऊ भनेर रोक्न सक्ने स्थिति नरहेको मन्थली नगरपालिकाको उपप्रमुख ईश्वरी बस्नेतले बताएकी छिन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर मन्थली नगरपालिका अन्तरगतको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सोमबार मन्थलीमा आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूको भूमिका विषयक’ अन्तरक्रियामा उपप्रमुख बस्नेतले भनिन– ‘अहिले विभिन्न सङ्घसंस्थाहरूमा लोन तिर्न नसकेर आत्मा दाह गर्ने, झुण्डेर मर्ने, विष सेवन गरेर मर्ने यस्ता घटना हाम्रा आँखा वरिपरि नै हामीले देखिराखेका छौँ । यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सकेका छैनौ ।
वैदेशिक रोजगारीमा जानेलाई सूचनामा प्रदान, अन्यायमा परेकालाई न्यायिक सहयोग, सिप विकास तालिममा सहयोग, वैदेशिक रोजगारीका कारण परिवारमा देखिएको मनोसामाजिक समस्यालाई परामर्श, वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गरिरहेको र त्यसको परिणाम पनि राम्रो भएको सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक दीपक केसीले बताए ।
एक हप्ते कार्यक्रममा वैदेशिक रोजगारीलाई कसरी सुरक्षित र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिने केसीले बताए ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र मन्थलीको आयोजनामा सोमबार साँझ देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रम समेत सम्पन्न भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button