मन्थलीमा बहुला कुकुरको बिगबिगी, एकैदिन नौ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मा एकै दिन बहुला कुकुरको टोकाइबाट नौ जना घाईते भएका छन् । बिहीबार भैंसेश्वर क्षेत्रमा बहुला कुकुरले नौ जनालाई टोकेको छ । कुकुरले टोकेका बिरामी उपचारका लागि मन्थली अस्पतालमा पुगेका र ती मध्ये ३ जनालाई थप उपचारका लागि काठमाण्डौँ रेफर गरिएको छ । मन्थली अस्पतालका डाक्टर केशव सिं धामीका अनुसार अस्पतालमा केही दिन देखि कुकुरले टोकेका बिरामी आउने क्रम बढेको छ । दैनिक ५।६ जना बिरामी आउन थालेको एक साता भइसकेको उनले बताए । बिहीबार भने कुकुरले धेरैलाई टोकेको पाइएको छ । कुकुरले टोकेर घाइते भएका बिरामीलाई तीन प्रकारको भ्याक्सिन लगाउनु पर्ने हुन्छ । दुई प्रकारका भ्याक्सिन अस्पतालमा भएपनि गहिरो घाउ बनाएका जटिल प्रकारका बिरामीलाई चाहिने भ्याक्सिन मन्थलीमा मात्र नभै जिल्लामा कतै छैन । त्यस्ता बिरामीलाई उपचारका लागि काठमाण्डौँ पठाउनु परेको धामीले बताएका छन् ।