खस्किएको बजार चलायमान बनाउन रामेछाप महोत्सव हुँदै

रामेछाप । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप, राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ जिल्लाको मन्थलीमा हुने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तीव्र रूपमा भइरहेको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापा मगरले बताए ।
पौष २६ गतेदेखि माघ ७ गतेसम्म ११ दिन हुने महोत्सवले जिल्लाभर उत्पादन हुने स्थानीय कृषि उत्पादनहरूको प्रवर्धन गरी खस्किँदै गरेको बजारलाई चलायमान बनाउन सहयोग पु¥याउने अध्यक्ष मगरले बताए । उनले भने – महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरिएको छ । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यही पौष २० गतेसम्म स्टलहरू बुकिङ गर्न सकिने छ ।
महोत्सवमा रामेछाप जिल्लास्थित धार्मिक, पर्यटकीय स्थलहरूको अवलोकन, तामाकोसी नदीमा र्याफटिङ्को आनन्द लिँदै महोत्सवमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता र बालबालिकाहरूको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा गायन, नृत्य, हास्यव्यङ्ग्य प्रस्तुति हेर्दै स्थानीय खानाका परिकारहरूको स्वाद लिन सकिने आयोजकले बताएको छ ।
महोत्सवमा पालिका स्तरीय लोक दोहोरी प्रतियोगिताका साथै सस्तो अनि सुपथ मूल्यमा स्थानीय स्रोत साधनबाट उत्पादित हस्तकला सामग्री,कृषि, घरेलु उत्पादनहरूको सामग्री खरिद गर्न सकिने छ । साथै महोत्सवमा विभिन्न जात जातिहरूको पारम्परिक झाँकी प्रदर्शन र साहित्यिक खुराकहरूको बेजोड प्रस्तुति समेत हेर्न पाइने आयोजकले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button