यस वर्षको जगदीश स्मृति पुरस्कार निबन्धकार काफ्लेलाई
रामेछाप । यस वर्षको जगदीश स्मृति सम्मान पुरस्कार निबन्धकार माधव काफ्लेलाई प्रदान गरिएको छ ।
जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा उनलाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो ।
सो प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अवसरमा मन्थली स्थित माझी समुदायका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन साहित्यकार एवं प्राध्यापक तुलसी दिवसले गरेका थिए ।
सो अवसरमा साहित्यकार नगेन्द्र राज शर्मा,आख्यानकार माधव काफ्ले, कवि उषा शेरचन,साहित्यकार हरिकृष्ण काफ्ले,साहित्यकार मनोज न्यौपाने, अश्विनी कोइराला, निबन्ध आचार्य, भवानी सङ्ग्रौला, दीपक घिमिरे, डा मोहन प्रसाईँ डा रेणु प्रसाईँ, र स्थानीय स्तरका कवि तथा कवयित्रीहरूले रचना वाचन गरे ।
समाजसेवी एवं साहित्यकारका रूपमा चिनिएका जगदीश घिमिरेको २०७० कार्तिक १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।
उनका लिलाम, साविति, सकस अन्तर्मनको यात्रा लगाएका कृतिहरू मध्ये अन्तर्मनको यात्राले मदन पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
कार्यक्रममा रचना वाचन गर्ने अधिकांश साहित्यकारहरूले जगदीशको योगदानको चर्चा गरे ।
जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष यही महिनामा साहित्यिक सम्मेलन गर्दै आइरहेको छ ।