प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक विदा नदिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक विदा नदिन सरकारी निकायलाई निर्देशन दिएका छन् । उनले कार्यक्रममा वालवालिकाहरुलाईसमेत सहभागी नगराउन निर्देशन दिए ।
रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक विदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो । आफू सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार रामेछाप आउँदैछन् । प्रधानमन्त्री दहाल रामेछापको सुनापति गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको समुद्धघाटका लागि रामेछाप आउन लागेका हुन् ।
प्रधानमन्त्री दहाल रामेछाप आउने भएपछि सुनापति गाउँपालिकाले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्देशन पछि सुनापति गाउँपालिकाले यसअघि दिएको विदा रद्ध गरेको छ ।